कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, चैत १६ – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारकाे क्रममा खड्काकाे निधन भएको कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जनाउनुभएकाे छ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । उहाँलाई चैत ९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उहाँको स्वास्थ्य स्थिति गम्भीर भएपछि नेपाली कांग्रेसले उहाँको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

केही समयदेखि अस्वस्थ रहनुभएका कांग्रेस नेताको स्वास्थ्य लाभको कामना गर्दै कांग्रेसका कार्यकर्ताले पूजासमेत गरेका थिए । कांग्रेस कार्यक्रतामाझ सधै लोकप्रिय रहनुभएका खडका नेपालमा हिन्दु राज्यकायम हुनु पर्छ भन्ने अडानका कारण पार्टी बाहिर पनि त्यतिकै लोकप्रिय बन्न पुग्नुभएको थियो ।

दाङबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएका खड्का २०४८, ०५१ र ०५६ सालको प्रतिनिधिसभा चुनावमा विजयी हुनुभएको थियो । ०४८ सालदेखि ०५८ सालसम्म ८ पटक मन्त्री हुनुभएका खड्कालाई कांग्रेसका कार्यक्रता तथा उहाँको गृहजिल्ला दाङमा निकै सदभावका साथ हेर्ने गरिन्थ्याे ।

भ्रष्टाचारको आरोपमा २०६९ साल भदौ ६ गते खुमबहादुर खड्का जेल चलान हुनुभएको थियो । सर्वोच्च अदालतले साउन ३० गते पदमा रहदा पदको दुरुपयोग गरि भ्रष्टाचार गरेको ठहर गर्दै उहाँलाई डेढ बर्ष कैद र ९४ लाख, ७४ हजार १ सय २२ रुपैयाँ वीगो र त्यतिनै जरीवानाको फैसला गरेको थियो ।

२०६९ साल भदौ ६ गते जेल चलान हुनुभएका खड्का २०७० असोज २२ गते जेलबाट छुट्नुभएको थियो ।

नेपाली कांग्रेसभित्र खुमबहादुर खड्का, चिरञ्जीवि वाग्ले, गोविन्दराज जोशी भ्रष्ट्राचारको आरोपमा सजाय भोगेका नेता हुन् । भ्रष्ट्राचारको आरोपमा जेल सजाय भोगेका अन्य नेताको राजनीतिक यात्रा कठिन र कार्यक्रतामाझको लोकप्रियता घटदा पनि खड्काको पार्टीभित्र र बाहिर राम्रो प्रभाव रहेको थियाे ।

विभिन्न आरोपमा कारवाही भोगेका नेताको पार्टीभित्र विरोध हुँदा खड्काको कांग्रेसभित्र विरोध भएन् । सामान्य विरोध भएपनि खड्का पार्टीमा शक्तिशाली बन्दै जानुभएको थियो ।

कांग्रेसको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्नुभएका खड्का भारी मतले विजयी हुनुभएको थियो । पार्टीको नेतृत्व तहमा हुँदा पनि र नहुँदा पनि खड्का पार्टीमा निकै प्रभावशाली नेताको रुपमा रहनुभएको थियोे ।

कांग्रेसको नेतृत्व तहमा खास भूमिका राख्ने खड्काको सहयोगले नै पार्टी सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको थियो ।

source:ujyaaloonline