एकता घोषणा ‘चैत २३ अगाडि नै’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन्। दुई अध्यक्षबीच संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएपछि केही बेर थप छलफलक्रममा ओलीको त्यस्तो प्रस्ताव आएको हो।

ओलीले ८ गते बिहीबार दाहालसँगको भेटमा पनि आफ्नो भारत भ्रमणको मिति २३ देखि २५ सम्म तय भइसकेको र त्यसअगाडि नै सकभर एकताको काम टुंग्याएर भारत भ्रमणमा जान सकिए सकारात्मक सन्देश जाने भन्दै अनौपचारिक छलफल गरेका थिए। त्यसदिन दुई अध्यक्ष (ओली-दाहाल) बीच कार्यदलको तयारी र समयले भ्याउने देखिएमा छिटो टुंग्याएर जान सकिने विषयमा छलफल भएको थियो।

शुक्रबार दुवै नेताले अन्तरिम विधान र अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन गठित दुई छुट्टाछुट्टै कार्यदलमा रहेका पार्टी नेतासँग अनौपचारिक छलफल गरी कार्यदलले गरिरहेको तयारीको विषयमा बुझेका थिए। त्यसपछि शनिबार दुई अध्यक्ष थप छलफलमा बसेका थिए। उक्त छलफलमा कार्यदलको काम करिब सकिने चरणमा रहेकाले द्रुतगतिमा काम अगाडि बढाएर भए पनि भारत भ्रमणअगाडि नै पार्टी एकताको प्रस्ताव ओलीले गरेका थिए। ओलीको त्यस्तो प्रस्तावमा दाहालले पनि सकारात्मक जवाफ दिएर आन्तरिक तयारीका लागि केन्द्रीय कार्यालयको हेडक्वार्टर बैठक बोलाएका थिए।

आफ्नै निवास खुमलटारमा बसेको माओवादी पार्टी नेताहरूको बैठकमा दाहालले ओलीले आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकता टुंग्याउन प्रस्ताव राखेको खुलासा गरेका थिए।

दाहालको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका सचिवालय सदस्य नारायण शर्माले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले पार्टी एकता गरेर भारत भ्रमणमा जाँदा राम्रो हुने, सन्देश पनि राम्रो जाने प्रस्ताव गर्नुभयो, मलाई पनि ठिकै लाग्यो, हाम्रो तयारी के हुन्छ ? सकिन्छ-सकिन्न ? यस विषयमा सुझाव दिनुहोला।’

ओली-दाहालबीचको छलफलमा दुई दिनभित्र कार्यदललाई आफ्नो काम सक्न निर्देशन दिने, १४ गतेभित्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने र प्राप्त कार्यदलको रिपोर्टका आधारमा निर्णय एकतासम्बन्धी ठोस निर्णय लिने, चैत १५ मा एकता संयोजन समितिले लिएका निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने र चैत २३ भित्रै पार्टी एकता गर्ने गरी गृहकार्य अगाडि बढाउन छलफल चलेको छ।

अन्तरिम विधान तथा संगठनात्मक कार्यविधि र अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न दुवै पार्टी शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले फागुन ७ मा छुट्टाछुट्टै दुई कार्यदल गठन गरेको थियो। दुवै कार्यदलले अहिले अन्तरिम मस्यौदा तयार पारी छलफल गरिरहेको छ। अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलको आइतबार पनि बैठक बोलाइएको छ।

कार्यतालिका :

– कार्यदलले बढीमा सोमबारसम्म काम सक्ने

– १४ गतेभित्रै एकता संयोजन समितिको बैठक बस्ने

– १५ गते संयोजन समितिको निर्णयका आधारमा दुवै पार्टीले आन्तरिक तयारी गर्ने

– २२ गतेभित्रै पार्टी एकताको औपचारिक घोषणा गर्ने

संगठनात्मक कार्यदलले अनौपचारिक छलफल दिनहँु गरिरहेको छ। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने, मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र बनाउने, अन्य वैचारिक विषयलाई छलफल गर्दै महाधिवेशनबाट टुंगो लगाउने र एकीकृत पार्टीका दुवै अध्यक्षले संयुक्त रूपमा नेतृत्व गर्ने समझदारी यसअघि नै एकता संयोजन समिति बैठकमा भइसकेको छ।

एमालेको तयारी पूरा, माओवादीको बाँकी

चैत २३ अघि नै पार्टी एकता गर्दा पनि एमाले आन्तरिक रूपमा तयारी अवस्थामा छ। तर, माओवादीको भने तयारी देखिँदैन। एमालेले पार्टी संगठनको सदस्य संख्या, कमिटीको आकार, नेता-कार्यकर्ताको कमिटीलगायत सबै चुस्त÷दुरुस्त तथ्यांक तयारी अवस्थामा राखेको छ। तर, माओवादीको अहिलेसम्म पनि सदस्य संख्या र पार्टी कमिटीको संख्यादेखि नेता-कार्यकर्ताको जिम्मेवारी कसको कहाँ भन्नेसम्मको तथ्यांक केन्द्रीय कार्यालयदेखि प्रदेश, जिल्ला तहसम्म पनि छैन।

‘अब प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकता माओवादीको तयारी पुग्यो भने र एकता प्रक्रियामा नेताहरूको व्यवस्थापनदेखि अन्य प्राविधिक पक्षहरू मिल्यो भने सम्भव देखिन्छ,’ माओवादीकै अर्का एक नेताले अन्नपूर्णसँग भने, ‘एमालेको करिब तयारी भइसकेको देखिन्छ, हामी माओवादीको बाँकी छ।’

एमाले नेता वेदुराम भुसाल एमालेको संगठनात्मक संरचना तयारी अवस्थामा रहे पनि कार्यदलमा सरसर्ती काम सकिए काम टुंग्याउन सकिने तर एउटै विषयमा अल्झिए लम्बिन पनि सक्ने बताए।

शनिबारको माओवादी केन्द्रीय कार्यालयको बैठक एकताका लागि आन्तरिक संगठनात्मक तयारीमा केन्द्रित भएको नेता मणि थापाले बताए। माओवादीले सरकारमा सहभागी नेताहरूको कार्यव्यस्ततालाई ध्यान दिँदै प्रदेशको जिम्मेवारीबाट मुक्त गर्दै नयाँ नेतालाई जिम्मेवारी दिएको छ।

‘यो जिम्मेवारी पार्टी एकतामा आन्तरिक पार्टी संरचनाको तयारीका लागि गरिएको कार्यविभाजन हो,’ अर्का माओवादी नेता गणेश शाहले भने, ‘अब उहाँहरू (प्रदेश इन्चार्ज)ले पार्टीको प्रदेश कमिटीको आन्तरिक छलफल बैठक दुई÷तीन दिनभित्र राखेर प्रदेश र जिल्लाको तयारी गर्नुहुनेछ।’

माओवादीले प्रदेश १ मा राम कार्की, २ विश्वनाथ शाह, ३ हितमान शाक्य, ४ हितराज पाण्डे, ५ मणि थापा, ६ जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ। माओवादीले १५ चैतमा केन्द्रीय सचिवालयको बैठकसमेत बोलाइसकेको छ।

तीन सयको केन्द्रीय समिति !

एमाले-माओवादी एकतापछि निर्माण हुने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तीन सयहाराहारीमा बनाउने गरी अन्तरिम विधान बनाउन गठित कार्यदलले प्रस्ताव गर्ने तयारी गरेको छ। कार्यदलका बीचमा करिब ३ सय १ वा २ सय ९९ सदस्यमध्ये एक संख्याको केन्द्रीय समिति बनाउने गरी प्रस्ताव तयार पारेको हो। यद्यपि, कार्यदलले निष्कर्ष भने दिइसकेको छैन।

कार्यदलले यो संख्यामै समझदारी बनाउने गरी छलफल चलाए पनि त्यसलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्नुपर्ने हुन्छ। संयोजन समितिले अनुमोदन गरेमा उक्त संख्याको केन्द्रीय समितिको एकतिहाइ अर्थात् १ सयको पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी समिति बन्नेछ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकमा अन्तरिम विधान बनाउन गठित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रामबहादुर थापा (बादल) ले तीन सयको केन्द्रीय समिति बनाउने गरी कार्यदलमा करिब समझदारी जुटेको रिपोर्टिङ गरेका थिए।

‘बादलजीले केन्द्रीय समिति ३ सय हाराहारी हुने गरी कार्यदलमा करिब समझदारी जुटेको बैठकमा रिपोटिङ गर्नुभएको थियो,’ कार्यालय सदस्य गणेश शाहले अन्नपूर्णसँग भने, ‘त्यो भनेको २९९ वा ३०१ मध्ये एक हुन सक्ने पनि बादलजीको कुरा थियो। कार्यदलले रिपोर्ट बुझाएपछि एकता संयोजन समिति बैठक बसेर यस विषयको अन्तिम निर्णय लिनेछ।’ नेता मणि थापाले पनि तीन सय हाराहारी केन्द्रीय समितिको विषयमा छलफल चलिरहेको बताए।

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक लाग्यो’

‘प्रधानमन्त्रीज्यू २३ चैतमा भारत भ्रमणमा जान लाग्नुभएको छ। उहाँले मसँगको छलफलमा आफ्नो भारत भ्रमणअगाडि नै पार्टी एकताको प्रस्ताव गर्नुभयो। भारत भ्रमणअगाडि पार्टी एकता गर्दा एकीकृत पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा सन्देश राम्रो जाने भएकाले सोअनुसार गरौं भनेर प्रस्ताव राख्नुभयो, दस्ताबेज, कार्यदलका तयारी करिब पूरा हँुदै छन् भन्ने रिपोर्ट पनि आयो, त्यसो हो भने प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नै पार्टी एकता गर्दा ठिकै हुन्छ भन्ने मलाई पनि लागेको छ। त्यो राम्रो पनि हुन्छ। हाम्रा कमिटी के-कति संख्याका छन्, हाम्रो तयारी के-कस्तो हुन्छ ? त्यो अवधिसम्म गर्न सकिन्छ÷सकिन्न ? के छ ? तपाईंहरूको सुझाव पाऊँ ? ’

source:annapurnapost

Advertisement

मर्यादाक्रम विवादले कांग्रेसमा बबाल, देउवा आफैं विवादमा उत्रिए


१० चैत, काठमाडौं । मर्यादाक्रमलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । नेताहरुबीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए ।

देउवाले कुर्सीबाट उठेर पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेका थिए ।

नेताहरुले भने सभापति देउवाले धर्यता गुमाएको प्रतिक्रिया दिएका छन् ।

किन भयो विवाद ? 

चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको मर्यादाक्रममा राख्ने प्रस्ताव पेश गरे । कांग्रेस र प्रजातान्त्रिक एकता हुँदा पौडेलपछि भएकाले उनलाई यो वरियता दिनु पर्ने कार्कीको तर्क थियो ।

अरु नेताहरुको मर्यादाक्रम भने विस्तारै निर्धारण गर्दै जाने उनको प्रस्ताव थियो ।

कार्कीले प्रतिवेदन बाचन गर्नु अघि नै श्रेष्ठको कुर्सी मर्यादाक्रमअनुसार मिलाइसकिएको थियो ।

तर, नेता प्रकाशमान सिंहले विरोध गरे । सबै नेताको मर्यादाक्रम तोकेर मात्र प्रस्ताव ल्याउनुपर्ने र केन्द्रीय कार्यसमितिले पास गरेपछि मात्र लागू गर्नु पर्ने उनको माग थियो ।

उनलाई बलबहादुर केसीले समर्थन गरे । तर, देउवा पक्षका महेन्द्र यादवले ‘सुशील कोइरालाको पालामा हामीले भनेको सुन्नभो’ भन्दै प्रतिवाद गरेपछि होहल्ला भयो ।

नेताहरुले वादविवाद गरिरहँदा देउवा सभापतिको आसनबाट उठेर सिंहतर्फ संकेत गर्दै ‘किन धेरै बोलेको ? छलफल हुँदैछ त’ भनेको एक नेताले सुनाए ।

सभापति नै विवादमा उत्रिएपछि नेताहरुले एकअर्कालाई सम्झाएका थिए ।

एक नेताले भने, ‘नेताहरुबीच विवाद हुनु त स्वभाविक मान्न सकिएला तर, सभापति आफैं कुर्सीबाट उठेर विवाद गर्दा निकै नमज्जा लाग्यो ।’

कांग्रेसमा लामो समयदेखि मर्यादाक्रमको विवाद छ । आफ्नो मर्यादाक्रम नमिलेको भन्दै गोपालमान श्रेष्ठले बैठकमा उपस्थिति जनाउन हस्ताक्षर समेत गर्न छाडेका थिए ।

उनी पछिल्लो लाइनमा आएर बस्ने गरेका थिए । डा. रामशरण महत लगायतका नेताहरुले पनि मर्यादा क्रमप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

s0urce:onlinekhabar

काठमाडाैं मा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने

काठमाडौं, चैत ११ – सरकारले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।

रिपोर्टर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०ले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ ।”

त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लाग्ने मन्त्री विश्वकर्माले बताउनुभयो ।

सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयो । त्यस्तै, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पनि समयमा सम्पन्न गर्ने उहाँको भनाइ थियो ।

उहाँले विगतका दिनमा प्रतिकूल वातावरणका बीचमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा क्षमता विकास गर्ने खेलाडीको योगदानको सरकारले कदर गर्ने चर्चा गर्नुभयो ।
–रासस

आजको राशिफल (२०७४ चैत्र ११ गते/२०१८ मार्च २५)

वि.सं. २०७४ चैत्र ११ गते आइतबार तदनुसार ई. सं. २०१८ मार्च २५ तारिख,
चैत्र शुक्ल अष्टमी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शोभन योग, बब र बालब करण
आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत महागौरी र सिद्धिदात्री भगवतीको आराधना गर्ने दिन, चैते दशैं, अष्टमी व्रत, गोरखकाली पूजा, राम नवमी व्रत, राम जयन्ती, रामयात्रा,  श्री भवानीको उत्पत्ति, सेतो मत्स्येन्द्रनाथको रथयात्रा, अशोकको पाउला खाने दिन, जमयात (नेवारी पर्व),
आजको मूहुर्त : कलशचक्र,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), अक्षरारम्भ, द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, कलशचक्र,
आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०४:४५ देखि ०६:१७ सम्म
यमघण्ट : दिउँसो १२:११ देखि ०१:४२ सम्म
गुलिक काल : दिउँसो ०३:१४ देखि ०४:४५ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:१४ सम्म
अमृत वारवेला : दिउँसो १०:३९ देखि १२:११ सम्म
लाभ वारवेला : बिहान ०९:०८ देखि १०:३९ सम्म
पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् वा दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धन भावको बलियो चन्द्रमाको प्रभावले विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । तपाईंका क्रियाकलापको सर्वत्र चर्चा हुनेछ, नाम, दाम र सम्मान पाउनु हुनेछ । दिदीबहिनी र करकुटुम्बबाट सहानुभूति र सहयोग मिल्नेछ ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । बढी आशावादी बन्नु हुँदैन, तर आफैंले आत्मबल र हिम्मतले काम लिन सकेमा पछि परिने छैन । योजना बनाएर दीर्घकालिक लगानी गरेमा काम बन्ने योग छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बाह्रौं चन्द्रमाको नकारात्मक फल प्राप्त हुने दिन छ । मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । स्वास्थ्यका दृष्टिकोणले पनि कमजोर दिन छ । झैझगडा र विवादबाट टाढा रहने दिन हो । भेटघाट र घुमघाममा फजुल खर्च बढ्ने सम्भावना छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । मनमा पापमतिको उदय हुनेछ, सानो गल्तीले ठूलो अनिष्ट निम्त्याउन बेर लाउँदैन ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुनसक्छ । लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्छ । सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मिश्रित प्रभाव भएको दिन छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । व्यापारमा समय दिन नसकेमा बेफाइदा हुनेछ । सामाजिक काम र परोपकारका मार्गमा अवरोध आउने छ । विशिष्ट व्यक्तिसँगको सम्बन्ध टाढिन सक्छ । आफ्नै व्यस्तताका कारण साथीभाइको सहयोग जुटाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आतिथ्य ग्रहण गर्ने, सम्मानित हुने वा मेजमानीको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । यद्यपि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका छ । मन प्रसन्न रहनेछ । व्यावसायिक यात्राको सम्भावनासमेत छ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि विजय तपाईंको हातमा छ । विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आर्थिक लगानी गर्नुअघि जान्नेबुझ्ने र अनुभवीको राय लिनु बेस हुनेछ । मित्रबाट सहयोग जुटाउन सकिन्छ, तर रिस र आवेगलाई नियन्त्रण गर्नुपर्छ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ उद्योगधन्दा वा व्यवसायका लागि वातावरण बन्नेछ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज काम बिग्रने डरले सताइरहने दिन हो । आफैंले प्रदान गरेको वाचालाई पालना गर्न सकिंदैन । अनुभवी र जान्नेबुझ्नेसमक्ष आफ्ना समस्या दर्साउँदा पनि सहयोग जुटाउन सकिंदैन । आमा वा कुनै बृद्ध नातेदारको सेवासुश्रुषामा समय बित्नेछ । सामाजिक कार्यमा अपजसको भागी बन्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)