पुरुषोत्तम गिरी
सल्यान, चैत ६ – सल्यानकाे सदरमुकाम खलंगामा रहेको एक नमूना विद्यालयका विद्यार्थीहरुले खुल्लामा शौच गर्ने गरेको भेटिएको छ । जिल्लाको सरमुकाम खलंगा लुहापिङमा रहेको त्रिभुवन जन माद्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयमा शौचालय नहुँदा नजिकैको झाडीमा जान बाध्य भएका हुन् ।
यस विद्यालयलाई केही समय अगाडि नेपाल सरकारले जिल्लाकै नमूना विद्यालयको रुपमा घोषणा गरेको थियो ।
विद्यालयमा शौचालय पर्याप्त मात्रामा नहुदाँ आफूहरु शौच गर्न जगंल जानुपर्ने बाध्यता रहेको कक्षा ८ मा अध्ययनरत विद्यार्थी नवीन थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो विद्यालयमा शौचालय पर्याप्त मात्रामा छैन, शौच गर्न विद्यालय हाता बाहिर रहेको जगंलमा जानु पर्छ, कहिलेकाहीँ पेटमा समस्या भयो भने त २/३ घण्टीको पढाई नै छुट्छ ।’विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
विद्यालयका प्रधानाध्यापक माधव विक्रम जिसीले विद्यालयमा आवश्यक मात्रामा शौचालय नहुँदा यो समस्या आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा शौचालय नभएको होइन, शौचालय छ । एउटा शिक्षक स्टाफहरुले प्रयोग गर्नुहुन्छ, अर्को शौचालय छात्राहरुले प्रयोग गर्छन्, तर छात्रहरु भने जंगलमा नै गएर शौच गर्ने गरेका छन् ।’
प्रधानाध्यापक जिसीले विद्यालयमा आर्थिक अभावले शौचालय निर्माण गर्न नसकेको बताउनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपाल रेडक्रस सोसाईटीलगायतका विभिन्न निकायहरुसँग सहयोग मागेको भए पनि अहिलेसम्म कहीँबाट पनि सहयोग प्राप्त नभएको जानकारी दिनुभयो ।
source:ujyaaloonline