विरेन्द्र केसी ४ चैत्र सन्धिखर्क
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा सुपादेउराली संरक्षण समितिको संयोजनमा नरपानीको पञ्चासेमा संस्कृति समालोचना एवं दर्शन गोष्ठी आजबाट शुरु भएको छ । धार्मिक पर्यटकीय स्थल सुपादेउरालीमा आएका पर्यटकलाई यस क्षेत्रका विभिन्न पर्यटकीय स्थलमा भ्रमण गराउने एवं संस्कृति र दर्शनको पहिचान गर्ने उद्देश्यले दुई दिने गोष्ठी गरिएको हो ।
कार्यक्रममा प्रध्यापक डाक्टर विष्णुराज आत्रेयले लेखेको ऐतिहासिक तथा पौराणिक पृष्ठभूमिमा आधारित सोमतीर्थ र सुपादेउराली नामक उपन्यास पुस्तकको पनि विमोचन गरिएको छ । संस्कृतिको महत्व र ऐतिहासिक सम्पदाको बारेमा पुस्तकमा वर्णन गरिएको छ । परम्परागत रुपमा रहेका धर्म, संस्कृति भेषभूषा र पहिचानको जगेर्ना सहित पुराणका कथा उपन्यासमा ढालेर लेखिएको छ ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. दिनेशराज पन्त, प्रा.डा. ज्ञानु पाण्डे, प्रा.डा. विष्णुराज आत्रेय, प्रा. माधवराज गौतम, प्रा. माधवराज गौतमले ऐतिहासिक प्राचिन सम्पदाको संरक्षण गरी पर्यटनको विकास हुने बताउनुभयो । गोष्ठीमा संस्कृतिको संरक्षण स्वरुप हतियार देखाएर नाच्ने सराय नाच र अन्य झाकी प्रदशन गरिएको थियो । सम्पदा र संस्कृति जोगाउनु पर्ने प्रतिष्ठानको टोलीको धारणा रहेको छ ।
कार्यक्रममा जिल्ला समन्यव समितिका उपप्रमुख रिऋि बहादुर पुलामी, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर विक, नगरका सबै वडाअध्यक्षहरु, एमालेका वसन्तकुमार श्रेष्ठ, कांग्रेस सन्धिखर्क नगर सभापति विनोद आचार्य लगायतले पर्यटन विस्तार र पर्यटकलाई भुलाउने उपाय संस्कृति, ऐतिहासिक सम्पदा र पहिचान भएको बताउनुभयो ।
सुपादेउराली संरक्षण समितिका अध्यक्ष प्रितम थापाको अध्यक्षता, उपाध्यक्ष गोर्बद्धन थापाको स्वागत र सचिव यादव घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सुर्यप्रसाद भुसाल, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी, हिन्दु धार्मिक अभियान्ता नारायण खनालयतको उपस्थिति रहेको थियो । गोेष्ठीमा नरपानी, खाँचीकोट, सितापुर लगायतका गाउबाट सयौ सर्वसाधारणको उपस्थित भएका थिए ।