अदालत जान्छु भनेका पराजुली किन मोडिए शीतलनिवास ?

१ चैत, काठमाडौं । न्यायपरिषदको सचिवले आफूलाई पदमुक्त गर्नै नसक्ने भन्दै गोपालप्रसाद पराजुलीले विहीबार नियमितरुपमा सर्वोच्च अदालत जाने प्रतिक्रिया दिएका थिए ।

विहीबार बिहान पराजुलीसँग सम्पर्क गर्दा पनि उनी अदालत जाने तयारीमै थिए । तर, एकाएक रामशाहपथको बाटो मोडिएर उनी शीतलनिवासतर्फ लागेपछि सर्वोच्च अदालतमा माहौल फेरियो ।

जोशीको हतारो

बिहान १० बजेसम्म पनि पराजुलीनिकट सर्वोच्च अदालतका कर्मचारीहरु ‘श्रीमान आउनुहुन्छ’ भन्दै थिए ।

तर, त्यसबीचमा कामु प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले बिहानै अदालत पुगेर न्यायाधीशहरुको इजलास तोकिसकेका थिए । त्यति गर्दा पनि पराजुली आउने हल्ला चलिरहेकै थियो ।

जोशीले ‘कज लिष्ट’ मात्रै तोकेनन्, सर्वोच्च अदालतको वेभसाइटबाट प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम र फोटो हटाउन लगाए । इजलास तोक्ने कम्प्युटर जोशीले हातमा लिइसकेका थिए ।

न्यायाधीशहरु पालैपालो सर्बोच्च अदालत परिसर प्रवेश गर्दा गेटमा फोटो पत्रकार र क्यामेरा पर्सनहरुको भीड थियो ।

पराजुलीले अदालतमा आउँछु भनेकाले सर्वोच्चमा दुईजना प्रधानन्यायाधीश हुने सम्भावना रहेकाले पत्रकारहरु बिहानै गेटमा जम्मा भइसकेका थिए । प्रहरी इन्सपेक्टरको नेतृत्वमा गेटमा पनि सुरक्षाकर्मी परिचालित थिए । तर, साढे १० बजेतिर एकाएक प्रहरीको एउटा डफ्फा त्यहाँबाट हिँड्यो ।

वकिलका झुण्डमा आ-आफ्नै तर्क

गोपाल पराजुली सर्वोच्चतिर नलागेर राष्ट्रपति भवनतर्फ लागेको खबर आएसँगै अब उनी नफर्किने आँकलन हुन थाल्यो । सर्वोच्च परिसरमा कालोकोट लगाएका वकिलहरु झुण्ड-झुण्डमा बाँडिएर आ-आफ्ना तर्क गरिरहेका थिए । कोही ‘यो न्यायपालिकामाथिको कु’ हो भन्दै थिए भने कोहीचाहिँ ‘जस्तो करनी, उस्तै भरनी’ भन्दै थिए ।

सबै न्यायाधीशहरु सर्वोच्चमा पुगेपछि कामु प्रधानन्यायाधीशको कार्यकक्षमा फूलकोर्ट बस्यो । कतिपयले अनुमान लगाएका थिए- दुई दिन इजलास बहिस्कार गरेका न्यायाधीशहरुले आज जोशीले तोकेको इजलास चलाउँछन्, तर अरु न्यायाधीशहरु इजलासमा नजान सक्छन् । तर, फूलकोर्टमा त्यस्तो केही भएन ।

करिब साढे ११ बजेतिर न्यायाधीशहरुको हुल नै प्रधानन्यायाधीशको कार्यकक्षबाट लहर बाँधेर आ-आफ्नो इजलासतिर लाग्यो ।

सबैभन्दा पहिले लिखित वक्तव्यसहित गोपाल पराजुली अवैध भनेर इजलास बहिस्कार गरेका चोलेन्द्र शमसेर जबरा उन्मुक्त हाँसोमा देखिन्थे । आखिर सर्वोच्च अदालतका सबै इजलास चले । यस्तो लाग्थ्यो-न्यायपालिकामा केही भएकै छैन,सबै ठीकठाक छ ।

सर्वोच्च परिसरमा कालोकोट लगाएका वकिलहरु झुण्ड-झुण्डमा बाँडिएर आ-आफ्ना तर्क गरिरहेका थिए । कोही ‘यो न्यायपालिकामाथिको कु’ हो भन्दै थिए भने कोहीचाहिँ ‘जस्तो करनी, उस्तै भरनी’ भन्दै थिए ।

कटवालकाण्डको सम्झना

०६५ सालमा तत्कालीन प्रचण्ड सरकारले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गरेपछि उनले सेनापतिको कुर्सी छाडेनन् ।

सरकारले प्रधानसेनापति बनाएका कुलबहादुर खड्कालाई जंगी अड्डामा प्रवेश नै दिइएन । अन्ततः राष्ट्रपति लगाएर कटवाललाई थमौती गरिएको थियो । कतिपयले सर्वोच्च अदालतमा पनि यस्तै दृश्यको कल्पना गरेका थिए ।

गोपाल पराजुली र दीपकराज जोशी दुबैले बुधवार बेलुकै आफू प्रधानन्यायाधीश भन्दै इजलास तोक्ने प्रतिक्रिया दिएका थिए । पराजुलीले न्यायपरिषदको पत्रलाई खारेज गरेका थिए भने जोशीले स्वाभाविक भनेका थिए । तर, विहीबार बिहान जोशी अदालत गएर कजलिष्ट तोके, पराजुली भने राष्ट्रपतिसमक्ष गएर राजीनामा ठोके ।

झण्डा र डण्डा खोसियो

उच्च स्रोतका अनुसार प्रधान न्यायाधीशको हैसियतमा पराजुलीले पाएको झण्डा र डण्डाविना जानकारी खोसियो । अर्थात झण्डावाला गाडी र कारगेटसहितको अगुवा-पछुवा सुरक्षाकर्मी फिर्ता भए ।

पराजुलीले आफू उपायविहीन भएको महसुस गरे ।

झण्डावाला गाडी र अगुवा पछुवा दीपकराज जोशीलाई सलाम ठोक्न पुगिसकेका थिए । जब कि पराजुलीको सो सुविधा खोसिएको पत्र भने उनको निवासमा पछिमात्र पठाइयो ।

प्रधानन्यायाधीशको सुरक्षार्थ १५ जना नेपाली सेना, ७ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी रहने पछिल्लो संशोधित व्यवस्था छ । स्कर्टिङका गाडी फिर्ता भइसकेपछि केही नियमित सुरक्षाकर्मीमात्र प्रधानन्यायाधीश निवासमा बाँकी रहेका थिए ।

साढे दुई बजेतिर पराजुलीको सुरक्षामा खटिएका नेपाली सेनाका मेजरसहितको टोली सर्वोच्चमा पुगेर दीपकराज जोशीको सुरक्षा कमाण्ड सम्हाल्न थाल्यो । झण्डावाला गाडी पनि जोशीसमक्ष पुग्यो ।

साँझदेखि बिहानसम्म के भयो ?

विहीबार साँझ न्यायपरिषदको पत्रपछि पनि पराजुलीले आशा मारेका थिएनन् । राष्ट्रपतिलाई सपथ-ग्रहण गराउन पाएपछि उनले राहतको सास फेरेका थिए । त्यसो त शीतलनिवासमै पराजुलीबाट सपथ लिनुहुँदैन भन्नेहरु पनि पुगेका थिए । तर, उनीहरुको सुझाव विपरीत सपथ गराउन पाएका थिए पराजुलीले ।

राष्ट्रपतिलाई सपथ खुवाएपछि पराजुली कानुन र संविधानका किताब बोकेर प्रधानमन्त्री निवास पुगेका थिए । तर, उनले त्यहाँबाट ढाडस पाएनन् । कतिपय स्रोतको दावी छ कि- उनले सहज निकास नदिए महाअभियोगको सामना गर्नुपर्ने सन्देश पाए । महान्यायाधिवक्ता अग्नि खरेलमार्फत उनले निरन्तर सन्देशहरु पाइरहेका थिए ।

न्यायपरिषद सचिवको पत्र खारेज गर्नका लागि उनले न्यायपरिषद बैठक बोलाउन खोजे । तर, न्यायपरिषद सदस्य रामप्रसाद सिटौलाबाहेक अरु उनको पक्षमा कोही भएनन् । आफैं अध्यक्ष रहेको परिषदमा आफ्नो पक्ष कमजोर भएपछि उनीसँगको बाँकी विकल्प पनि सकियो ।

पराजुलीले प्रचण्डबाट ठूलो अपेक्षा गरेका थिए । आइजीपी काण्डदेखि सुशीला कार्कीमाथिको महाअभियोगसम्मका प्रमुख खेलाडी रमण श्रेष्ठमार्फत उनले धेरै प्रयास गरे । भरतपुरको मेयरमा रेणु दाहाललाई जिताउन पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णय सदर गराउनेदेखि विभिन्न मौकामा आफूले सघाएको स्मरणसमेत उनले गराए । तर, उनका सबै प्रयास विफल भए । source:onlinekhabar

 

Advertisement

क्रिकेटमा ऐतिहासिक उपलब्धी, नेपालले पायो एकदिवसीय मान्यता

१ चैत, काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।

ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो ।

लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो ।

यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो ।

तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । साथै अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।

किन अर्थपूर्ण छ ओडीआई स्टाटस ?

नेपाल अहिलेसम्म एशोसिएसट टिम मात्र हो । अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ । साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बद्धि हुनेछ ।

तर, ओडीआई स्टाटस मात्र सबै कुरा होइन । नेपाली क्रिकेटको घरेलु संरचना बलियो छैन भने क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ ।

त्यसैले क्रिकेट संघको विवाद सल्टाएर घरेलु संरचना बलियो नबनाएसम्म ओडीआई स्टाटसबाट पर्याप्त लाभ लिन सकिन्न ।

यू-१९ टोलीका प्रशिक्षक एवं पूर्वकप्तान विनाद दास यसलाई नेपाली क्रिकेटले पाउको अहिलेसम्मको ठूलो उपलब्धी मान्छन् । उनले भने, ‘खेलाडीहरुले जे गर्नु पर्ने थियो गरेर देखाए । अब बल एडमिनिस्ट्रेसनको हातमा छ । आश गरौं, सबै समस्या समाधान हुन्छ र एउटा सक्षम क्रिकेट बोड अगाडि आउँछ ।’

पपुवा न्यूगिनी र हङकङले गुमायो

विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये तीनले एक दिवसीय मान्यता पाउनेछन् भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछन् ।

सुपर सिक्समा पुगेका स्कटल्याण्ड र यूएईले एकदिवसीय मान्यता पाइसकेका छन् । बिहीबार नेपालले पनि पक्का गरेको छ ।

पपुवा न्यूगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाएका छन् र डिभिजन टूमा घटूवा भएका छन् ।

source:onlinekhabar.com

उपत्यकामा भेटिएनन् २० वर्ष पुराना सार्वजनिक सवारी साधन, उपत्यकाबाहिर ५९ वटा नियन्त्रणमा

old_bus_Yqid28PVhH.JPGचैत १, २०७४ काठमाडौं : २० वर्ष पुराना सार्वजनिक सवारी साधन सडकमा संचालन गरेको देखिए नियन्त्रणमा लिने भन्दै यातायात व्यावस्था विभागबाट अनुगमनमा गएका टोली रित्तो हात फर्किएका छन्।

बिहीबारबाट २० वर्षे सार्वजनिक सावारी साधन सडकमा संचालन गरेको देखे नियन्त्रण गर्ने भन्दै विभागबाट चारवटा टोली उपत्यकाका चार नाकातिर लागेका थिए। काठमाडौंको नागढुंगा, भक्तपुरको साँगा, फर्पिङ र तीनपिप्लेमा अनुगमन गरेका थिए।

तर २० वर्षे सार्वजनिक सवारी साधान सडकमा संचालनमा नभेटिएपछि उनीहरू रित्तो हात फर्किएका  हुन्। काठमाडौं उपत्यका भित्रिने प्रमुख नाका नागढुंगा अनुगमनको जिम्मा पाएका थिए, यातायात विभागका नायव सुब्बा श्रीराम भुर्तेलले। तर उनले काठमाडौं भित्रिने प्रमुख नाकाबाट समेत २० वर्षे सार्वजनिक सवारी साधन फेला पारेनन्। उनी नागढुंगाबाट खाली हात फर्किए। त्यस्तै, फर्पिङबाट तोरणबहादुर कटुवाल, तीनपिप्लेबाट केशवराज जमर्कट्टेल र साँगाबाट गणेश केसी पनि रित्तो हात फर्किन बाध्य भए।

उनीहरूले चारवटै नाकामा ट्राफिक प्रहरीसँगै बीच सडकमै उभिएर पुराना नम्बर प्लेटका सार्वजनिक गाडी चेक जाँच गरेका थिए। तर २० वर्षे गाडी नभेटेपछि खाली हात फर्किनुपरेको हो। नागढुंगा अनुगमनमा पुगेका श्रीराम भुर्तेलले भने पुराना गाडी अब शहरभन्दा पनि ग्रामीण भेगतिर चलाउने गरेकाले अनुगमन प्रभागकारी बनाउन ग्रामीण भेग र उपत्यकाकै पनि भित्री भागतिर अनुगमन गर्नुपर्ने बताए।

तर यातायात व्यवस्था विभागका प्रमुख रूपनाराण भट्टराईले भने उपत्यकाबाहिरबाट ५९ वटा २० वर्षे पुराना सार्वजनिक सवारी साधन नियन्त्रणमा लिएको र उपत्यकामा पनि अनुगमन तीब्र पार्ने बताए। यसबारेमा यातायात महासंघले भने विभागको निर्णयको विरोध गर्दै आएको छ। विभागले देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना हुने भन्दै गत वर्ष कार्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने सूचना सार्वजनिक गरेको थियो।

source:thahakhabar

राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं, चैत १ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

नेकपा ९एमोल०का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो । –रासस

भोलि त्रिविका आंगिक क्याम्पस बिदा

IMG_20170205_154916_5BrrGXr7ZR.jpgचैत १, २०७४ काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा. गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ।

उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो। विसं २०५९ मा उपकुलपति भएका डा. शर्माको शव बिहीबार काठमाडौं ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। उनका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ।

 source:thahakhabar