काठमाडौं, फागुन २३ – सन् २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ जिम्बावेमा छनोट प्रतियोगिता खेलिरहेको नेपालले भोलि स्कटल्याण्डको सामना गर्दैछ । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनको भारी अन्तरले पराजित भएको नेपाल जितको खोजीमा छ ।
विश्वकपमा छनोट नभए पनि कम्तीमा एकदिवसीय मान्यताको बाटो सहज बनाउन नेपाललाई स्कटल्याण्डविरुद्धको खेल जित्नु पर्नेछ । समूहचरणमा शीर्ष तीनभित्र रहेर सुपर सिक्स चरणमा पुग्नका लागि भने नेपाललाई जित्नै पर्ने दबाब रहनेछ ।
स्कटल्याण्डविरुद्धको खेल जिम्बावेको बुलावायोमा रहेको क्वीन्स स्पोर्ट क्लबको मैदानमा दिउँसो सवा १ हुनेछ । जुन मैदानमा नेपालले घरेलु टिमसँग हार ब्यहोरेको थियो । जारी प्रतियोगितामा समूह चरणका यसअघिका दुई खेल जितेर स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले र हङकङलाई ४ विकेटले हराएको थियो ।
अफगानिस्तानविरुद्धको जितमा स्कटल्याण्डका कोलुम म्याकलोइडले १५७ रनको शानदार पारी खेलेका थिए । प्रतियोगिताको अहिलेसम्म एकै इनिङमा सर्बाधिक रन बनाउने खेलाडी उनै हुन् ।
हङकङलाई ९१ रनमा रोक्नका लागि टम सोलले १० ओभरमा ५ मेडन राख्दै १५ रन खर्चिएर ४ विकेट विकेट लिएका थिए । नेपालविरुद्ध यी दुई खेलाडी ठूलो चुनौति हुन सक्छन् ।
हेड टू हेडमा स्कटल्याण्डविरुद्ध नेपालको यसअघिका प्रदर्शन राम्रो छैन । स्कटल्याण्डसँग तीन वटा एकदिववीय खेल खेलिसकेको नेपालले सबै खेलमा हार ब्यहोरेको छ । बिहीबारको खेल नेपाललाई स्कटल्याण्डविरुद्ध पहिलोका साथै विश्वकपमा छनोट हुनेका लागि अवसर पनि हुनेछ ।
नेपालले ४ वर्षअघि न्यूजिल्याण्डमा भएको एकदिवसीय विश्वकप छनोटमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो । नेपालले स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा ४६.१ ओभरमा १५९ रनमा समेटिएको थियो । स्वास्थका कारण कप्तान पारस खड्का टिममा नरहे पनि त्यतिबेलाका ४ खेलाडी अहिले पनि नेपालको टोलीमा छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले स्कटल्याण्डसँग उसकै मैदानमा २ खेल खेलेको थियो । २०१५ को जुलाई २९ र ३१ मा खेलिएको दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नेपालले २३६ रनको लक्ष्य पछ्याउने क्रममा २३२ रन मात्र बनाउन सकेको थियो ।
वर्षाका कारण ३६ ओभरमा झारिएको खेलमा नेपालका लागि ओपनर अनिलकुमार मण्डलले शतकीय पारी खेलेका थिए भने कप्तान पारसले ७० रन बनाएका थिए । नेपालले ३६ ओभरमा ५ विकेट गुमाएर २३२ रनमात्र बनाएपछि ३ रनको हार बेहोरेको थियो ।
त्यसको २ दिनपछि भएको अर्को खेलमा भने नेपालले पहिले ब्याटिङ गरेर ४९.१ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । जवाफमा स्कटल्याण्डले १३.५ ओभरमा १ विकेट गुमाएर १११ रन बनाउँदा खेल वर्षाले बिथोलियो र डकवर्थ लेविस नियम अनुसार स्कटल्याण्ड ९ विकेटले विजयी भयो ।