इन्द्रबहादुर राईको अनन्त प्रस्थान

काठमाडौं : जीवन के हो ? सायद उनले सबैभन्दा चिन्तन गरेको प्रश्न यही थियो। उनले जति लेखे दैहिक र आत्मिक जीवनले समष्टिमा निर्माण गर्ने अस्तित्वलाई केन्द्रमा राखेर लेखे। अस्तित्वको जगमा उभिएर लेखनको तेस्रो आयाम सुरु गर्ने तिनै साहित्यकार इन्द्रबहादुर राई (इबरा) मंगलबार साँझ दैहिक रूपमा हामीबाट सदाका लागि बिदा भएका छन्। नेपाली मूलका दार्जिलिङ निवासी साहित्यकार राईको ९० वर्षको उमेरमा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनले नेपाली साहित्यमा जति लेखे– नागार्जुन क्युबिज्म र विनिर्माणबाट झिकेका थोकहरूलाई हतियार बनाएर लेखे। नेपाली लेखनलाई उनले नयाँ फर्म दिए। ती अध्ययनशील, जिनियस, ट्यालेन्टेड सर्जकले केही समयअघि भनेका थिए, ‘दार्जिलिङको जीवनमा उत्तराधुनिकता आयो त ? अब आफूमा परिवर्तन जाँच्नुपर्छ।’ उनले जाँचेका कुरा मानिसमा आइरहेको परिवर्तन थियो।

एक अन्तर्वार्तामा उनले भ्यानगगको जुत्ताको चित्रको उदाहरण दिँदै उत्तराधुनिकता चिनाइरेहका थिए। भ्यानगगको त्यो जुत्ता, फाटेको, हिलोमैलो लागेकाले ‘क्लास’ चिनाउने र अहिलेका हजारौं कम्पनीहरूबाट बनिएको जुत्ताको फोटोले कुनै क्लास नचिनाउने उनको तर्क थियो। ‘भ्यानगगको जुत्तामा फिलिङ र मिनिङ दुवै थियो,’ उनले भनेका थिए, ‘अहिले फिलिङ मात्र छ, मिनिङ छैन।’

नेपाली साहित्यमा अस्तित्ववादी धार स्थापित गर्न ठूलो योगदान दिएका राई लीलालेखनका प्रणेतासमेत हुन्। १९८४ साल माघ १७ गते दार्जिलिङको खर्साङमा जन्मिएका राई २०१० को दशकमा आधार, भारती, दियो, दियालो र रुपरेखाजस्ता चर्चित साहित्यिक पत्रिकामा आफ्ना साहित्य प्रकाशन गरेर स्थापित भएका थिए। ३० वटा कथा संगृहीत उनको पहिलो पुस्तक ‘विपना कतिपय’ सन् १९६१ मा प्रकाशित थियो। सन् १९६४ मा ‘आज रमिता छ’ नामक उपन्यास प्रकाशन गरेर नेपाली साहित्यमा अस्तित्ववादको स्तम्भ खडा गरेका राई कलकत्ता विश्वविद्यालयबाट स्नातक र उत्तरबंगाल विश्वविद्यालयबाट स्नातकोत्तर हुन्।

इन्द्रबहादुर राई भन्थे, ‘मरेपछि मानिसले केही लाँदैन।’ ‘विचार गर्दै जाँदा म साधु-सन्तजस्तो पो हुन्छु कि त,’ राईले निष्कर्ष निकालेका थिए, ‘अनि यस्तो लागेपछि के लेख्नु ? किन पो लेख्नु ? ’

‘आफ्नो लाइनको, विचारको, त्यही विचारलाई पछ्याउँदै गएर भेटेको ज्ञान, कुरा लेख्नै पाइँदैन,’ अन्नपूर्ण पोस्ट्सँगको वार्तामा उनले भनेका थिए’, ‘अब लेख्दिनँ भन्नु गाह्रो। अबचाहिँ एउटा लेखेको दुई हजार लिन्छु भनौं लागेको छ। यसो भन्दा नलेख भन्छन् कि ? ’

सन् १९६० को दशकको सुरुमा वैरागी काइँला, ईश्वरवल्लभसँग मिलेर उनले सुरु गरेको तेस्रो आयाम नेपाली साहित्यमा एक विशिष्ट मोड दिने अभियान थियो। निश्चित समयमा बाँचेको मानिसको पूर्णताको खोजीको रुपमा राईले तेस्रो आयामलाई अथ्र्याएका थिए। त्यसैले त कवि विप्लव प्रतीक भन्छन्, ‘राई भूतो न भविष्यतः भन्न मिल्ने स्रष्टा र द्रष्टा हुन्।’

‘पाण्डुलिपि’ साहित्यिक मासिकसँग मनोज बोगटीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मरेपछि आफूले केही लाँदैन, सबैले भन्छन्। त्यही कुरा आफूले सोच्दा गहिरिनुपर्‍यो म। भौतिक कुरा केही जाँदैनन्। हजारको नोट, टेबल, चौकी केही पनि। हिन्दू धर्मले भनेको छ, ज्ञान पनि भौतिक हो। म ठूलो इतिहासकार हुँ भने, त्यसको ज्ञान पनि शरीरदेखि वियक्त हुन्छ। ज्ञान पनि जाँदैन। इमोसन, फिलिङ्गस ? के यो पनि भौतिक हो ? माया लाग्नु, रिस उठ्नु भौतिक हो ? मरेपछि सायद यही कोठामा घुमिबस्छौं होला। ए म त मरेँछु भन्ने याद हुन्छ। माया पनि लाग्दैन।’

‘विश्वव्यापी ज्ञानका सबै क्षेत्रमा उत्तिकै दखल र अद्यावधिक रहने राईको हाराहारीमा अर्को नेपाली स्रष्टा छैन। उनले नेपाली साहित्यमा स्थापना गरेको तेस्रो आयामलाई बुझ्ने आजको मितिसम्म कोही जन्मिएको छैन’, कवि विप्लव प्रतीकको टिप्पणी छ।

तेस्रो आयाम एउटा मोडमा पुगेपछि विस्तारै धमिलो हुँदै गयो। राईले साहित्यमा अर्को मोड ल्याए। त्यो थियो लीलालेखन। त्यसो त राई लीलालेखन र तेस्रो आयामलाई एउटै यात्राका फरक मोडहरू मात्र भन्ने गर्थे। राईको ‘कठपुतलीको मन’लाई लीलालेखनको प्रथम आधारकृतिका रूपमा लिने गरिन्छ।

राई केवल आख्यानमा मात्र सीमित छैनन्। ‘नेपाली उपन्यासका आधारहरू’ नामक समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ प्राप्त गरेका राईका ‘सेतो ख्याकको बनोट र बुनोट’, ‘टिपेका टिप्पणीहरू’, ‘सन्दर्भमा ईश्वरवल्लभका कविता’, ‘साहित्यको अपहरण माक्र्सवादी प्रतिबद्धता’, ‘दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी’, ‘अर्थहरूको पछिल्तिर’, ‘पृष्ठ पृष्ठ’ लगायतका समालोचना कृति प्रकाशित छन्। त्यस्तै, उनका ‘कथास्था’ नामक कथासंग्रह, ‘पहाड र खोला’, ‘लेखहरू र झ्याल’, ‘लीला प्रस्तावना’ नामक निबन्ध संग्रह प्रकाशित छन्। २०५१ सालमा जगदम्बा श्रीबाट सम्मानित राई दैहिक रूपमा हामीबाट बिदा भए पनि नेपाली साहित्यको लामो इतिहासमा उनी सधैँ स्मरणीय रहनेछन्।

‘विचार गर्दै जाँदा म साधु–सन्तजस्तो पो हुन्छु कि त,’ राईले अन्तर्वार्तामा निष्कर्ष निकालेका थिए, ‘अनि यस्तो लागेपछि के लेख्नु ? किन पो लेख्नु ? ’

Source: annapurnapost

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.