पुष्प घलान
काठमाडौं, फागुन २१ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ ।
विश्वका शक्ति राष्ट्रहरु धु्रविकरण भईरहेको अवस्थामा चीनतर्फ नजिकिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक रुपमा बधाइ दिन भनिएपनि अब्बासीको दुई दिने नेपाल भ्रमणको मुख्य उदेश्य सार्क शिखर सम्मेलन भएको बुझाइ छ ।
पाकिस्तानको राजधानी इस्लामावादमा सन् २०१८ नोभेम्बर ९ र १० गतेका लागि १९ औँ सार्क शिखर सम्मेलन गर्ने मिति तय भएको थियो । तर भारत प्रशासित जम्मुकाश्मिरको उरी भन्ने ठाउँमा विद्रोही समूहले आक्रमण गरेर १७ जना भारतीय सैनिकको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भयो ।
भारतले पाकिस्तानबाट आएका विद्रोहीले आक्रमण गरेको भन्दै पाकिस्तान विरुद्ध ‘सर्जिकल स्ट्राईक’ पनि गर्यो । त्यस अवधिमा दुवै देशका सैनिक र गैरसैनिक गरी दर्जनौको ज्यान गयो ।
दक्षिण एशियामा परमाणु बम रहेका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानको विवादले उग्र रुप लिंदै गएपछि निर्धारित समयमा सार्क सम्मेलन हुन सकेन । भारतसहित बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि १९ औँ सार्क शिखर सम्मेलन अनिश्चित छ ।
वर्णानुक्रमका आधारमा सार्कको अध्यक्षता गर्ने व्यवस्था अनुसार हाल नेपालले सार्कको अध्यक्षता गरिरहेको छ । नेपालले सार्कको शिखर सम्मेलन गर्ने वातावरण बनाउन आग्रह गरे पनि पाकिस्तानमा नै गर्नुपर्छ वा अन्यत्र सारेर गर्ने भन्ने बारेमा आफ्नो धारणा बाहिर ल्याएको छैन ।
२०७१ मंसिर १० र ११ गते काठमाडौँमा सम्पन्न १८ औँ शिखर सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशका प्रधानमन्त्रीको हात मिलाएर सम्बन्ध सुधारको प्रयास गर्नु भएको थियो । नेपालको त्यो नेतृत्वदायी भूमिका र मध्यस्थताकर्ताको महसुस गर्दै अब्बासी नेपाल आउन लागेको परराष्ट्रविदहरुको भनाई छ ।
यस्तै, संयुक्त राष्ट्रसंघको जागिरका लागि गएको ९ महिनाभन्दा अघि लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका सेवानिवृत कर्णेल मोहम्मद हबीब अझैसम्म बेपत्ता छन् । पाकिस्तानले भारतीय खुफिया एजेन्सी ‘रअ’ ले हबिबको अपहरण गरेको आरोप लगाएको छ ।
यो पनि पढ्नुहोस – दुई महिना बितिसक्दा पनि भेटिएनन् पाकिस्तानी पूर्व कर्णेल
कर्णेल हबिबको परिवारले यस विषयमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा उजुरी गरे पनि अहिलेसम्म उनको पत्तो लागेको छैन । यस विषयमा पनि अब्बासीले जिज्ञासा राख्ने अनुमान गरिएको छ ।
सार्क सक्रिय होला ?
अहिले दक्षिण एशियाली साझा फोरम सार्क निष्कृय छ । उरी आक्रमणपछि भारतले पाकिस्तानलाई पाखा लगाउन खोज्दा सार्क सम्मेलन अनिश्चित छ ।
यस्तो बेलामा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण केवल ओलीलाई बधाइ दिने कार्यमा मात्रै सीमित नरही सार्कलाई सक्रिय बनाउने बारेमा पनि नेपाल र पाकिस्तानबीच सार्थक कुराकानी गरे भने यो दक्षिण एशियाकै लागि फलदायी भ्रमण हुन सक्ने देखिन्छ ।
तर भारतले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिने प्रष्ट जनाईसकेको छ । यस अवस्थमा सार्क शिखर सम्मेलन पाकिस्तानमै गर्ने कि अरु देशमा गर्ने भन्ने बहस पनि एकातिर छ । यदि अर्काे देशमा हुने भए अंग्रेजी अल्फाबेटका आधारमा हुने सार्ककको नियम अनुसार श्रीलंकामा हुनेछ । भारत पाकिस्तान नजाने र पाकिस्तानले अर्काे देशमा नजाने अडान लिए सार्ककको अस्तित्व नै खतरामा पर्न सक्नेछ ।
विगतमा पनि दुई देशको सम्बन्धलाई सुधार गर्न मध्यस्थताको भूमिका निर्वाह गरेको नेपालबाट अब्बासीले पनि त्यसैको निरन्तरता खोजेको हुन सक्छ ।
नेपाल भारतको सम्बन्ध
नेपाल र भारतबीच भौगोलिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक र राजनीतिक सम्बन्ध रहेको छ । दुई देशबीचको सम्बन्धमा कहिलेकाहीँ खटपट भएपनि जनस्तरबाटै जोडिएको ‘रोटीबेटी’को सम्बन्धले मजबुत बनाउने गरेको छ ।
पूर्व, पश्चिम र दक्षिण गरी तीन दिशाबाट नेपालसँग सीमा जोडिएको भारतसँग भौगोलिक सम्बन्ध पनि उतिकै निकटता रहेको छ । युगौंदेखिको दुई देशबीचको सम्बन्धलाई पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणले खासै असर पर्ने देखिंदैन ।
भौगोलिक रुपमा पनि टाढा रहेको र धार्मिक, साँस्कृतिक रुपमा पनि कम सम्बन्ध जोडिएकाले अब्बासीको नेपाल भ्रभणले भारतसँगको सम्बन्धमा फरक पर्ने देखिदैन ।
तैपनि पाकिस्तान र भारतबीचको कटुता सम्बन्ध रहेको अवस्थमा अब्बासीको नेपाल भ्रमणले भारतको मनमा चिसो भने पस्न सक्छ । मित्रतापूर्ण सम्बन्ध रहेको नेपालसँग शत्रुतापूर्ण सम्बन्ध रहेको पाकिस्तानको उच्चस्तरीय भेटवार्ताले भारत झस्कने ठाउँ भने देखिन्छ ।
बधाई दिन प्रधानमन्त्री आएको संभवत पहिलो
नेपाल र पाकिस्तानबीच यसअघि पनि उच्चस्तरीय भेटवार्ता भएका छन् । तर प्रधानमन्त्रीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री नेपाल आएको संभवत पहिलो पटक हो ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको निमन्त्रणामा नभई आफ्नै इच्छामा आउन लाग्नु भएको हो । भ्रमण टोलीमा विदेशमन्त्री खवाजा मोहम्मद असिफ, परराष्ट्र सचिव तेहिमना जान्जुआ, परराष्ट्र प्रवक्ता डा. मोहम्मद फैसललगायत एक दर्जन उच्च अधिकारी रहनेछन् ।
आफ्नै विमानबाट आउन लागेका पाकिस्तानी प्रधानमन्त्रीले नेपाली समकक्षी केपी ओलीसँग सोमबारे रात्री भोजसहित औपचारिक वार्ता गर्दै हुनुहुन्छ । त्यसपछि मंगलबार बिहान राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्यलयका अनुसार अब्बासीको भ्रमण ‘कूटनीतिक च्यानल’मार्फत तय भएको हो । नेपाल र पाकिस्तानवीचको सम्बन्ध सार्क फोरममा मात्रै नभई आर्थिक र सामाजिक क्षेत्रमा पनि छ ।
भारत र पाकिस्तानवीच क्रिकेट म्याच हुँदा नेपाली दर्शकहरुले प्रायः पाकिस्तानी टोलीको सपोर्ट गर्ने गर्छन् । त्यसैगरी भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला पाकिस्तानीहरुले नेपालको पक्षमा सहानुभूति प्रकट गरेका थिए ।
यसले पनि नेपाल र पाकिस्तानबीचको सम्बन्ध कूटनीतिक मात्रै नभएर भावनात्मक रहेको स्पष्ट हुन्छ ।
source : ujyaaloonline