यसरी मारिए मनोज, वसन्तका बुबा भन्छन् : देवदहका अरू छोराहरू नमरून्

फागुन ९, २०७४  :

भवानीपुर गौतम बुद्धको मावली गाउँ हो। देवदह नगरपालिका– ४ मा पर्ने भवानीपुरमा मायादेवी मन्दिर र अरू बुद्धकालीन संरचनाहरू भएको पुरातत्त्वविद्हरू बताउँछन्।  यही पुरातात्त्विक संरचना भएको स्थलभन्दा केही पूर्वमा विजयपुर चोक छ। विजयपुर चोक पुग्नुअघि सानो पुल छ।

पुल र विजयपुर चोकको बीचमा ओरालो सडकमा बुधबार बिहानै ‘इन्काउन्टर’ भयो। इन्काउन्टरमा देवदहमा २ जना र काठमाडौंमा एक जनाको हत्या अभियोग लागेका देवदहवासी मनोज पुन भनिने मनोज बुढामगर र उनका दाहिने हात मानिने भैरहवावासी सोम आले मारिए।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी तथा देवदहका बलु पौडेलको हत्यापछि बनेको अनुसन्धान समितिका संयोजक घनश्याम अर्यालले प्रहरीसँगको जम्काभेटमा २ जना मारिएको बताए।

पुन युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी, नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन र देवदहका फर्निचर व्यवसायी वसन्त पौडेको हत्याका योजनाकार रहेको आरोपमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए।  रूपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार उनीहरू नेपाल आएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र नेपाल प्रहरीको स्थानीय टोलीले सर्च अभियान थालेको थियो।

‘सर्च अभियानमा गएको सिआइबीका अंगुर डीसी नेतृत्वको टोलीमाथि मोटरसाइकलमा रहेका उनीहरूले फायरिङ गरेका थिए’, ज्ञवालीले घटना विवरण बताए, ‘प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरू घाइते भए र लुम्बिनी अंचल अस्पतालमा ल्याएलगत्तै मृत घोषणा गरिएको थियो।’

पुन र आलेको शरीरमा २२ वटा गोली लागेका छन्। पुनको शरीरको अघिल्लो भागमा ८ वटा, तिघ्रामा २, पाखुरामा १ र ढाडमा एउटा गोली लागेको छ।  आलेको छातीमा ५, ढाड, पेट, खुट्टा र बायाँ कोखामा गरी १० गोली लागेका छन्।

स्थानीय भन्छन् : मकै भुटेजस्तै गरी गोली चल्यो

विजयपुर चोकका वासिन्दाले एकाबिहानै सवा ३ बजेतिर गोली चलेको आवाज सुने। आवाज सुनेपछि के हो भन्ने सोधीखोजी गर्ने प्रयास उनीहरूले गरेनन्। ‘मकै भुटेजस्तै भटटटट आवाज आएको थियो’, स्थानीय सीता बस्यालले भनिन्।  उज्यालो भएपछि स्थानीय सडकमा आउँदा प्रहरीको भीड थियो। ‘बिहानै एकदमै भीड थियो, बीचमा २ वटा मोटरसाइकल पल्टिएका थिए’, स्थानीय चन्द्रकान्त पाण्डेले भने, ‘भुइँभरि रगत थियो।’

ल्यापटप र पेस्तोल बरामद, पुनले बोक्थे नक्कली पासपोर्ट

घटनास्थलबाट प्रहरीले एउटा ल्यापटप र एउटा पेस्तोल बरामद गरेको छ। मनोज पुनले सूर्य राना नामबाट नवलपरासीबाट निकालिएको पासपोर्ट प्रयोग गर्ने गरेको र अरू फरक फरक नामका एटिएम कार्डहरू बरामद भएको एसपी ज्ञवालीले बताए।

कसरी आए पुन र आले देवदह?

प्रहरीका अनुसार पुन र आले केही दिनअघि रूपन्देही आएको सूचना प्रहरीले पाएको थियो। एक जना वरिष्ठ प्रहरी अधिकृतले केही दिनअघि बुटवलमा पुन छिट्टै पक्राउ पर्ने बताएका पनि थिए।  त्यसलगत्तै उनले पुनको इन्काउन्टर हुनसक्ने बताएका थिए। प्रहरीले पुन र उनको समूहलाई एमालेकै नेताहरूले संरक्षण गरेको भन्दै अनुसन्धानमा असहज भएको बताउँदै आएको थियो।  यसअघि प्रहरीको एक टोली भारतमा पुनलाई खोज्दै गए पनि उनलाई नेपाल ल्याउन नसकेपछि रित्तै फर्किएको थियो। प्रहरीका एक अधिकारीका अनुसार पुनका सहयोगी आले चितवनबाट केही दिनअघि पक्राउ परेका थिए। उनकै सहयोगमा पुनलाई नेपाल ल्याइएको हो।  ती अधिकारीका अनुसार आलेकै सहयोगमा पुनसम्म पुगेर धनगढीको बाटो हुँदै देवदह लगेर घर जान भन्दै बाइक दिइएको थियो र त्यसपछि प्रहरीले इन्काउन्टर गरेको हो।  पुनको घर देवदह– ५ मा पर्छ।

दबाबपछि सर्वसाधारणले हेरे शव

एकाबिहानै संचार माध्यममा पुन र आलेको इन्काउन्टरको खबर आएसँगै उनीहरूको शव राखिएको स्थान लुम्बिनी अंचल अस्पतालमा भीड बढेको थियो। भीड बढ्दै गएपछि शव मनोज पुन र सोम आलेको नभएको हल्ला फैलियो। हल्लासँगै प्रहरीलाई दबाब बढ्यो र प्रहरीले सर्वसाधारणलाई पनि उनीहरूको शव हेर्न दियो। अञ्चल अस्पताल पुगेका सर्वसाधारणले लाइन लागेर उनीहरूको शव हेरे।

शव आफन्तको जिम्मा लगाइन्छ : प्रहरी

प्रहरीले पुन र आलेको शव आफन्तलाई जिम्मा लगाउने बताएको छ। ‘पोष्टमार्टम र अरू प्रक्रियापछि आफन्तलाई शव जिम्मा लगाउँछौँ’, रूपन्देही प्रहरी प्रमुख ज्ञवालीले भने, ‘उहाँहरूसँग हामीले सम्पर्क गरिरहेका छौँ।’

पुनबाट पीडितहरू भन्छन् : अब शान्त हुन्छ देवदह

देवदहवासीले पुनको इन्काउन्टरपछि शान्ति फर्किने बताएका छन्। बुद्ध मावली थलो देवदहमा आतंक मच्चाइरहेका पुन र आलेको प्रहरीले इन्काउन्टर गरेपछि उनीहरूले देवदहमा आतंकको राज समाप्त भएको भन्दै खुसी व्यक्त गरेका छन्।

यसो भन्छन् मारिएका वसन्त पौडेलका बुबा नीलकण्ठ 

मेरो छोरा मारियो। हामी अझै पनि शान्त भएका छैनौँ। पीडामै छौँ। हामी चाहन्छौँ, देवदहका अरू छोराहरू नमरुन्। प्रहरीलाई नै च्यालेन्ज गरेको, दिनरात चिन्ता दिने मान्छे मारियो भने ठीकै हो तर उसलाई जिउँदै समातेर उसका अरू साथीहरूलाई पनि समातेको भए अझ राम्रो हुन्थ्यो।

देवदह नगरपालिका प्रमुख केसी भन्छन् : ज्युँदै समातेर थप अनुसन्धान गर्नुपर्थ्यो

यो घटनापछि देवदहवासीले राहतको महसुस गरेका छन्। हामीले पनि पटक पटक प्रहरीलाई दबाब दिँदै आएका थियौँ। सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिरहेका थियौँ। अब देवदह सुरक्षित हुने आशा जागेको छ। प्रहरीलाई धन्यवाद छ। तर अपराधीलाई जिउँदै समातेर थप अनुसन्धान गरेर अरू सहयोगीहरूलाई पनि कानुनी दायरामा ल्याएको भए हुने थियो।

 

Source : thahakhabar.com

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.