​खानेपानीको धारामा रगत आएपछि…

कपिल कोइराला/उज्यालो

काभ्रे, फागुन ८ – खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीय बासिन्दा अचम्ममा परेका छन् ।

हप्तामा २ दिन मात्र पानी आउने गरेकोमा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानयीहरु अचम्मका साथै समस्यामा परेका छन् । उनीहरुका धारामा रगत आएपछि टोलभरकै स्थानीय बासिन्दा नगरपालिकामा डेलिगेसन गएका छन् । खानेपानी आउने धारामा रगत आएपछि बनेपा दक्षुटोलमा स्थानीयहरु डराएका छन् ।

बनेपाको ८ र ९ वडाको सिमाना दक्षुटोलका स्थानीय नागरिक खानेपानीमा  रगत मिसिएको पानीसहित नगरपालिकामा डेलिगेसन आएका थिए । ‘धेरै दिनदेखि खानेपानीमा रगत मिसिएर आएको छ भनेर नगरपालिकामा भन्दा पनि वास्तै गरेनन् । अति भएपछि पानीसहित डेलिगेसनमा आउनुपर्‍यो’, स्थानीय उज्वल पोटेले भन्नुभयो ।

खानेपानीको तालिका अनुसार मंगलबार खानेपानीको धारामा पानी थाप्न पुगेका उज्वलको धारामा रगत आएको थियो । स्थानीयका अनुसार व्यवस्थित बधशाला नहुँदा शाही टोलबाट आएको ढल र खानेपानीको पाइप एकै ठाउँबाट राखिएकोले रगत आएको बताए ।  खानेपानीको धरामानै रगत आएपछि बनेपा वडा नम्बर ९ का वडाअध्यक्ष शेरबहादुर सुवालको नेतृत्वमा बनेपा नगरपालिकामा उजुरी गर्न पुगेका थिए ।

धेरै दिनदेखि रगत आएको र जानकारी गराउँदा पनि नगरपालिकाले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् ।
बनेपामा रहेको खानेपानी संस्थानले वितरण गर्ने खानेपानी र बनेपा नगरपालिकाले बनाएको ढल एउटै भएको कारण घर–घरमा वितरण भएको खानेपानीमा समय–समयमा रगत आएर जनताको स्वास्थ्यमा गम्भीर असर पारेको आरोप उनीहरुको छ ।

बनेपा नगरपालिकाको हलमा सेवाग्राहीले धारामा रगतजस्तै पानी आएको स–प्रमाण देखाएपछि बनेपा नगरका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठ अलमलमा पर्नुभयो । उहाँले समस्या तत्कालैसमाधान हुने बताए पनि स्थानीयले विश्वास गरेका छैनन् । ‘धेरै पटक उजुरी गरिसक्याैँ, मेयरले केही गर्नुभएन, मिडियाको सामु भएर होला समस्या सामाधान गर्ने त भन्नुभयो तर हामीलाई विश्वास छैन्’, स्थानीयको आरोप छ ।

खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका वडा नम्बर ८ र ९ का झण्डै तीन सय घर परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन् ।

Source: Ujyaaloonline
Advertisement

पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न

अर्घाखाँची, फागुन ८ ,

पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु गरेको छ । चैत्र मसान्त सम्ममा सदस्यता नविकरण, चैत्र महिना भित्रमा नवनिर्मित भवन उद्घाटन गर्ने निर्णय गरेको छ ।

भुमिकास्थान नगरपालिका कार्यालयको सहयोगमा महासंघले चिदिचौरमा चैत्र ९ गते देखि १३ गते सम्म पाँच दिने आधारभूत पत्रकारीता तालिम सञ्चालन गर्ने निर्णय गरेको पत्रकार महासंघका जिल्ला सदस्य अर्जुन भुसालले जानकारी दिए ।

तालिम सञ्चालन गर्न र भवन उद्घाटन गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसीको अध्यक्षता र सचिव सुर्य प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

 Source:hindukhabar.com

दिपक आचार्यको निधनप्रति राष्ट्रिय जनमोर्चा अर्घाखाँची द्धारा दुःख ब्यक्त

गोपाल प्रसाद भट्टराई,फागुन ८ सन्धिखर्क

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भिमलाल आचार्यका जेष्ठ सुपुत्र दिपक आचार्यको निधनप्रति राष्ट्रिय जनमोर्चाले दुःख ब्यक्त गरेको छ ।

सन्धिखर्क १० निवासी समाजसेवी आचार्यका जेष्ठ सुपुत्रको गत माघ २८ गतेका दिन उपचारको क्रममा ३९ बर्षकै अल्पआयुमा निधन भएको हो । स्वर्गिय आचार्यको १० औं दिनको पूण्य तिथिमा आज उहांको निवास सन्धिखर्क १० अर्घा बिहारमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज आयोजना गरेको श्रदान्जली सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले यस्तो दुःख ब्यक्त गरेका हुन ।

स्वर्गिय दिपक आचार्य जस्तो राष्ट्रिय जनमोर्चाको क्रियाशिल सदस्य र एक जुझारु इमान्दार युवालाई गुमाउनु पर्दा आफुहरुको आन्दोलनलाई समेत ठुलो क्षती पुगेको भन्दै नेताहरुले भावुकता ब्यक्त गरेका छन् ।

स्वर्गिय युवा आचार्यका बुवा भिमलाल आचार्यको अध्यक्षता र राष्ट्रिय जनमोर्चाको नेता पोम नारायण पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष पशुपति ढकाल,सचिव गोपाल पौडेल,अनेमसंघ जिल्ला अध्यक्ष कल्पना पोखे्रल,एमाले प्रतिनिधि ठाकुर प्रसाद ढकाल,माओवादी केन्द्रका प्रतिनिधि देव बहादुर खड्का,कांगे्रसका टोप नारायण भुसाल,सेवा निबृत हक हित समाजका केन्द्रिय सह–अध्यक्ष पिताम्बर बन्जाडे,पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हिम लेकाली,कोषाध्यक्ष बिनोद गैरे लगायतले समेत श्रदान्जली ब्यक्त गर्नुभएको ।

व्यवसायीक तरकारी उत्पादनमा कृषकहरु अग्रसर

पाणिनीः व्यवसायीक तरकारी उत्पादनमा कृषकहरु अग्रसर

अड्गुरी, पोखराथोक र खिदिमका कृषकलाई वितरण गर्ने सामाग्री तस्विर : घनश्याम पौडेल

घनश्याम पौडेल,अर्घाखाँची ८ फागुन ।

भारतवाट आउने तरकारी आयात रोकी ब्यबसायीक तरकारी उत्पादन गरि आफुहरु सक्षम हुन पाणिनि गााउ पालिकाका कृषकहरु लागि परेका छन । निर्बाहमुखी तरकारी खेती गरेका पाणिनि गाँउपालिका २ पोखराथोक, .३ खिदीम र ७ अडगुरीका कृषकहरु ब्यबसायीक रुपमा तरकारी उत्पादन गर्न लागि परेका छन ।

निर्बाहमुखी तवरवाट तरकारी खेती गरेका कृषकहरुलाइ ब्यबसायीक बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा लुम्विनी सामाजिक विकास केन्द्रले एक वडामा ६ वटाका दरले तीन वडामा १८ वटा समुह बनाएर काम गरिरहेको छ ।
१८ समुहमा आबद्ध बनाएर पाँच सय कृषकहरुलाइ व्यबसायीक रुपमा अगाडी बढाउन बर्षे मौषममा लगाउने वेमौषमी उत्पादन सम्बन्धि तीन दिनको तालिम तथा अर्गानिक तरकारीको उत्पादन गर्न भन्दै स्थानीय स्तरमा प्रांगरिक मल तथा जैविक बिषादी बनाउने सम्बन्धि २ दिने तालिम प्रदान गरेको छ ।

तालिम संगै बर्षे मौषममा लगाउने उन्नत जातका विउहरु वितरण गरेको लुम्विनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देसक इन्द्रमणि पौडेलले बताए । उनले कृषकहरुका लागि उन्नत जातका टमाटर, काक्रो, घिरौला, तोराये, लौका, सिमला मृच, करेला, फर्सी, मुला, बोडी, सिमी, भिण्डी, धनीया लगायतका तरकारीको विउ वितरण गरेको उनले बताए ।

प्लाष्टिकको घर भित्र टमाटर खेती गर्नका लागि पलाष्टिकको टनेल बनाउने तालिम र एक सय पचास पलाष्टिक टनेल वितरण गरेको छ । टनेल संगै उत्पादन भएको टमाटर बिक्री गर्न क्यारेट समेत वितरण गरि कृषकहरुलाइ ब्यबसायीक तरकारी खेतीमा आकर्षण गरेको छ ।
तरकारीमा बढि बिषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीय स्तरमा पाइने अमिलो, टर्राे, पिरो, तितो लगायतका बस्तुहरुको प्रयोग गरेर पाणिनि जैविक बिषादी बनाउन सिकाइएको जिल्ला कृषि विकास कार्यलयका वाली संरक्षण अधिकृत नन्दलाल पाण्डेले बताए ।

पाणिनि गाँउपालिकालाइ कृषि र पशुपालनमा नमुना बनाउने गरि काम भैरहेको पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिए । उनले उत्पादनमुखी र ब्यबसायीकमुखी कृषकलाइ गाँउपालिकाले सहयोग गर्न पछि नपर्ने बताए । तालिम तथा विउ हरु पाए पछि कृषकहरु ब्यबसायीक बन्न सुरु गरेको बताउदै आफुहरुले उत्पादन गरेको तरकारी बिक्री गर्न हाटबजार सञ्चालन समेत गर्ने योजना रहेको अगुवा कृषक हरि प्रसाद भुसालले बताए । उनले उत्पादन विना आर्थिक समृद्धि हुन नसक्ने पनि बताएका छन ।

अर्घाखाँचीको ढिकुरामा निशुल्क स्वास्थ्य शिविरमा १५ सय बिरामीको चेकजाज

अर्घाखाँचीको ढिकुरामा निशुल्क स्वास्थ्य शिविरमा १५ सय बिरामीको चेकजाज

रुद्रमणि भुसाल
भुमिकास्थान, ८ फागुन । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा डेभाको भगबति माध्यमिक बिद्यालयमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । ढिकुरा समाज अर्घाखाँची काठमाडौको आयोजना र लन्यन्स क्लब अफ काठमाडौ ढिकुरा, ढिकुरा अर्घाखाँची रुपन्देही समाज सहआयोजना युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राबिधिक सहयोग मा शिबिर सम्पन्न भएको हो ।

भुमिकास्थान नगरपालिका र अर्घाखाँचीको ढिकुराबाट काठमाडौ, बुटवल बस्नेहरुको आर्थिक सहयोगमा २ दिने बिहृत शिबिर सम्पन्न भएको हो । शिबिरमा भरतपुर अस्पतालका सुपरिटेन्डन हाडजोनी रोग बिशेषज्ञ डा. रुद्र मरासिनी सहित २१ जना डाक्टरहरुले झन्डै १५ सय बिरामीको जाँच गनु भएको थियो ।

उपचारको लागि अर्घाखाँची जिल्लको ढिकुरा सहित धातिवाङ्ग , धारापानी, जुकेना, धनचौर खाँचीकोट नुवाकोट, नरपानी, लगायतका १५ सय बिरामीहरुले जाँच गराउनु भएको ढिकुरा समाज अर्घाखाँची काठमाडौका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए ।

गाउँमा निशुल्क शिबिर सञ्चालन गर्दा धेरै बिरामीलाई आफनो रोग पतmालगाउन र सामान्य रोग निको पार्नको लागि निकै निशुल्क स्वास्थ्य शिबिर प्रभावकारी भएको ढिकुरा समाज काठमाण्डौका सदस्य लेखनाथ भुसालले बताए । समाजले गएको बर्ष पनि ढिकुराको शारदामाबिमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको थियो ।

Source: hindukhabar.com