गुल्मी ,फागुन ६
वरिपरि खाली चौर, माथि घना जंगल। त्यही चौरको एक छेउमा टिनले छाएको एक तले भवन। जहाँ मालिका गाउँपालिका कार्यालय लेखिएको छ। हो, यही भवनभित्र छ स्थानीय सरकार। स्थानीय आमा समूहले बनाएको चार कोठे कच्ची भवन मालिका गाउँपालिकाको सिहंदरवार (प्रशासनिक केन्द्र) हो।
एउटा कोठा अध्यक्षको लागि र अर्को उपाध्यक्षको लागि छुट्टाइएको छ। बचेका दुई कोठामा प्रमुख प्रशासकीय अधिकृतदेखि सबै विषयगत कार्यालय र सहयोगीसम्म अटाउनुपर्ने बाध्यता छ।
जिल्ला सदरमुकामबाट ११ कोस टाढा मालिका गाउँपालिकाको केन्द्र अर्खाबांग पर्छ। सभा बस्न परे विद्यालयमा पुग्छौँ,विदाको समय मिलाएर ठुलीचौर प्राविमा बैठक बस्ने गरिएको छ जीर्ण भवनका कारण सहज सेवा दिन समस्या परेको बताउँछन गाउँपालिका प्रवक्ता शोभाखर गिरी। ‘भवन नहुँदा निकै समस्यामा परेका छौँ’ गिरीले भने धेरै सेवाग्राही कार्यालय आए सेवा दिन समस्या छ।
गाउँपालिकाको सभा बस्न भने सार्वजनिक विदा कुर्नु पर्ने छ। किनकि सभा सधैँ विद्यालय भवनमा बस्ने गरेको छ। ‘ सभा बस्न परे विद्यालयमा पुग्छौँ,विदाको समय मिलाएर ठुलीचौर प्राविमा बैठक बस्ने गरिएको छ’ गिरीले भने। गाउँपालिकाको भवन अभाव भएका कारण ट्रस्ट निर्माण गर्ने प्रक्रिया सुरु भएको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए । कर्मचारी र प्रतिनिधिलाई भवनको समस्या छ।
तर, सर्वसाधारणलाई भने त्यो स्थान पुग्नै समस्या छ। गाउँपालिका कार्यालय पुग्न धेरै सेवाग्राहीको लागि सहज छैन। मालिका गाउँपालिका वडा नम्बर ६, ७ र ८ नम्बर वडालाई गाउँपालिका पुगेर आफ्नो काम सकेर फर्कन समय अपुग हुन्छ।मालिकामा मात्रै होइन मदाने, धुर्कोट र इस्मा गाउँपालिकामा पनि उस्तै समस्या छ।
गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका रहेका छन्। अहिले कुनै पनि स्थानीय तहको आफ्नो कार्यालय भवन छैनन्। भौतिक संरचना नहुँदा कार्यालयको सेवा प्रवाह तथा कर्मचारीहरु बस्नसमेत समस्या छ।
Source : thahakhabar.com