डक्टरले दुवै मृगौला छैन भनेपछि छाँगाबाट खसेजस्तै भएँ : कान्छीमाया

काभ्रे, फागुन ५ – मेलम्ची नगरपालिका –६, तालामाराङकी कान्छीमाया थिङको २५ वर्षकै उमेरमा दुवै मृगौला फेल भएपछि जीवन रक्षाको माग गरेकी छिन् ।

२०७२ सालको भुइँचालोले घर भत्काइदिएपछि  बनेपा नगरपालिका–३, मा चना चट्पट बेचेर जीविकोपार्जन गर्दै आएकी कान्छीमाया थिङ दुवै मृगौला फेल भएपछि झनै समस्यामा परेकी हुन । उनी अहिले जीवन रक्षाको लागि विभिन्न सहयोगी निकायको ढोका ढकढक्याउन थालेकी छिन् । ‘एक महिना अगाडि खाना नरुच्ने, वाकवाकी लाग्ने भएपछि जचाँउन जाँदा २ सय २० प्रेसर पुग्यो, त्यसपछि रगत जाँन्न गको एक थोपा पनि आएन् । पछि बल्लबल्ल रगत जाँचियो । डक्टरले त दुइटै मृगौला छैन भने छाँगाबाट खसे जस्तै भएँ’, कान्छीमायाले भनिन् ।

दुवै मृगौला फेल भएको धुलिखेल अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र केएमसी अस्पतालले प्रमाणीत गरिसकेको छ । प्रत्येक हप्ता डायलोसिस गर्नु पर्ने र एक पटकमा ५ हजार खर्च हुने कान्छीमायाको भनाई छ । सरकारले डायलोसिस गर्न निःशुल्क गरे पनि सरकारी अस्पतालमा पालोमा बस्नुपर्ने भएकोले उपचारमा समस्या भएको उनको भनाई छ ।

 

‘समयमा नै डायलोसिस भएन भने जहिले पनि ढल्न सकिने रेछ, उपचार गरु महङ्गो छ, नगराैँ ज्यानको माया, परिवार छन्’, कान्छीमायाले रुँदै भनिन् । १ महिनाको अवधिमा अहिलेसम्म २ लाख रुपैयाँ खर्च भइसकेको र मृगौला प्रत्यारोपण गर्न ७ देखि ९ लाख लाग्ने भएकोले आफूहरु समस्यामा परेको कान्छीमायाका श्रीमान आइतमान लामाले बताए ।

‘भएको घर भुइँचालोले खाइदियो, तालामाराङको खेतीले खान पुगेन्, बँदेलले जे लगाए पनि खाइदिएपछि गुजारा चलाउनको लागि काभ्रेको नाला आएर चना चट्पट बेच्ने गरेका थियौँ’, आइतबहादुर लामाले भने, ‘सहारा दिने श्रीमती नै यस्तो भएपछि के गर्नु ।’

कान्छीमायाको ५ जनाको परिवार छ । श्रीमान, २ छोरा र १ छोरी चनाचटपटे बेचेर नै पालिएका थिए

Source :Ujyaaloonline

Advertisement