एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकामा समन्वय बैठक सम्पन्न ।

अनिल भुसाल ,फाल्गुन ५ अर्घाखाँची

अर्घाखाँची पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकामा समन्वय बैठक सम्पन्न भएको छ । परियोजनाले सञ्चालन गरेको गतिबिधी र आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा गाउँपालिकाका पदाधिकारी तथा कार्यपालिका सदस्यहरुसँग समन्वय बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई छिटो छरितो, प्रभावकारी र पारदर्शी बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले छत्रदेव गाउँपालिकामा हुने विकास निर्माणका साथै स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । पोख्रेलले छत्रदेब गाउँपालिकालाई सुशासन र जवाफदेहिताको क्षेत्रमा अगाडि बढाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जिल्लाका अरु नगरपालिका र गाउँपालिका भन्दा छत्रदेव गाउँपालिका पारदर्शी नमुना योग्य गाउँपालिका बन्ने बताउनु भयो । उहाँले आफुहरुले सामाजिक जवाफदेहिताका औजारहरुको माध्यमबाट गाउँपालिकालाई पारदर्शी र जवाफदेही बनाउने कार्यलाई निरन्तरता दिइराखेको बताउनुभयो ।

पारष्परिक जवाफदेहिता परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सामाजिक जवाफदेहिताका औजारहरु सार्वजानिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक खर्चको सोधखोज, सूचनाको हक, सहभागिता मुलक बजेट बिश्लेषण, सामुदायिक अंक पत्र लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसालको अध्यक्षता, परियोजना अनुसन्धानकर्मी सविता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पुर्ण गाउँ कार्यपालिकाका पदाधिकारी, सदस्यहरु सामदायिक सञ्चारकर्मी रुद्रमणि भुसाल, पत्रकार अनिल भुसाल, नबराज बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।

सार्वजनिक शौचालय तथा दिशा जन्य लेदो व्यवस्थापन सम्बन्धी तालिम सन्धिखर्कमा सम्पन्न ।

घनश्याम पौडेल,फागुन ५ सन्धिखर्क

सार्वजनिक शौचालय तथा दिशा जन्य लेदो व्यवस्थापन सम्बन्धी तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिती अर्घाखाँचीको आयोजना, ग्लोलव स्यानिटेशन फण्ड युएन ह्यावीटेटको आर्थिक तथा प्राविधिक सहयोग तथा प्रकाश सचेतन समूह प्रागको सहजीरकणमा तालिम सम्पन्न भएको हो। तालिमको उदघाटन गर्दै राष्ट्रिय खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका सदस्य प्रेम कृष्ण श्रेष्ठले सफासुग्गर गाउँ बनाउँन सुरुवात घरबाटै गर्नमा सवैले ध्यान दिनुपर्ने बताए । उनले सन् २०३० सम्ममा सवै नेपालीको घरमा स्वस्थकर खानेपानी पु¥याउँने उद्देश्य तथा नेपाल खुल्ला दिशामुक्तको अन्तिम चरण तथा पुर्ण सरसफाईको अभियानले तिव्रता पाएको बताए ।

राष्ट्रिय खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका सदस्य राजेन्द्र अर्यालले सामुहिक प्रयत्नले बागमती सफा बनेको भन्दै सफा नेपाल बनाउँन सवै लागीपर्नुपर्ने बताए । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले सार्वजनिक शौचालय प्रयोगमा ल्याउँन स्थानियले ध्यान दिनुपर्ने बताए । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सार्वजनिक शौचालय प्रयोगमा नआएकाले सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष हिमलेकालीले जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउँनमा पत्रकारको सकारात्मक भुमिका रहने बताए । तालिमको उदघाटन सत्र जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका उपाध्यक्ष ऋषिबहादुर पुलामीको अध्यक्षता, प्रागका निर्देशक प्रेम गैरेको सञ्चालनमा सम्पन्न भएको तालिममा शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारी, भुमिकास्थानका प्रमुख रेशम थापा लगायतको सहभागिता रहेको  थियो ।

जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिर उद्घाटन ।

अन्जना खनाल,फाल्गुन ५ अर्घाखाँची

जिल्लाको मालारानी गाउँपालिका वडा नं ४ स्थित स्थानीय क्लब द्वारा निर्मित सुपादेउराली मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले रिबन काटेर मन्दिरको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले आतेकासाउ ब्रमकोटहुँदै मालारानीमा पर्यटक भित्र्याउने र पहिलो दर्शन यस जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिरमा गराउने अनि जालकाडाको भ्रमण गराउँदै मालारानी मन्दिर दर्शन र अवलोकन गराइ गोखुङ्गाको भ्यूटावरहुँदै बाम्रुकको नरशिहथान लगायत पालिकाका महत्वपुर्ण स्थानमा पर्यटक आवतजावत हुने वातावरण बनाउने भन्दै नवनिर्मित मन्दिरलाई पालिकाबाट हुनसक्ने पुर्ण सहयोग रहने जानकारी गराउनुभएको थियो ।

मन्तव्यकै क्रममा विशिष्ट अतिथि अर्थात् मालारानी गाउँपालिका ४ का वडाअध्यक्ष विष्णुप्रसाद पोखरेलले वडाभित्र भौतिक पुर्वाधार ,धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको विकास गर्दै समृद्ध वडा बनाउने योजनामा आफु लागेको भन्दै मन्दिर निर्माण गरेकोमा क्लबप्रति शुभकामना व्यक्त गर्नुभएको थियो । पोख्रेलले खनमा स्वरोजगार सिर्जना र व्यवसायिक कृषिमा आफ्नो योजनाहरु बन्दैगएको पनि उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुमध्ये समाजसेवी दिनेश सुनारले नवनिर्मित मन्दिर निर्माणप्रति गर्व प्रकट गर्दै युवाले चाहेमा हरेक कुरा सम्भव छ भन्ने यसले संकेत गरेको भन्दै खनको हरेक क्षेत्रको विकासको लागि आउने बैसाखभित्रमा एउटा वैधानिक संस्था तयार गरी आफूसंगै केही युवा वैज्ञानिक योजनाका साथ लाग्न थालेको कुरा खुलासा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दल र समाजसेवीहरुले क्लबले गरेको महान कार्यप्रति खुसी र धन्यवाद व्यक्त गर्दै आफू र आफ्नो संस्थाबाट यो क्लबलाई पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

क्लबले हालसम्म मन्दिर निर्माणमा लागेको खर्च र उठेको आम्दानीको विवरण प्रस्तुत गरेको थियो । देउसीभैलो, बिदेशी तथा स्वदेशी सहयोगमार्फत हालसम्म उठेको जम्मा रकम रु (२,५६७५९) दुइ लाख छ्पन्न हजार सात सय उन्साठी, हो भने हालसम्म मन्दिर निर्माण र अन्य खर्च गरि खर्च जम्मा रु (४,१८५५६) चार लाख अठार हजार पाँच सय छ्पन्न रहेको छ । सोही विवरणअनुसार संस्था घाटामा रहेको कुरा क्लबले जानकारी दिएको छ र उक्त रकमपुर्तिको लागि गाउपालिका र वडासंग समेत अनुरोध गरेको बुझिएको छ ।

विधिवत रुपमा पूजा सञ्चालन गरी अगाडि बढेको कार्यक्रमको अध्यक्ष कमल विक, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, मालारानी ४ का वडा अध्यक्ष विष्णु प्रसाद पोख्रेल र स्थानीय पण्डित ठाकुर प्रसाद रिजालको विशिष्ट आतिथ्यता र मा.के प्रतिनिधि भविश्वर पोख्रेल, ने.का का प्रतिनिधि बिनिराम पोख्रेल, रा. ज .मो प्रतिनिधि कृष्ण सुनार, समाजसेवी दिनेश सुनार, माधव खनाल, लक्ष्मण बिक लगायतको आतिथ्यता रहेको कार्यक्रम विष्णु बि क को स्वागत मन्तव्य र गोपाल कुमार बिक को सन्चालनमा सम्पन्न भएको थियो ।

Source:ArghakhanchiBulletin

अर्घाखाँची युबा परिषदको दोस्रो अधिबेसन सम्पन्न अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित ।

सहयोगी बिसी,फागुन ५ सन्धिखर्क

अर्घाखाँची युवा परिषदको दोस्रो अधिवेशनबाट अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनु भएको छ । जसको उपाध्यक्षमा केशव घिमिरे, डिलाराम भुसाल, महासचिवमा प्रकाश भुसाल, सचिव कृष्ण खनाल, सहसचिव वावुराम भुसाल, र कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ रहनु भएको छ । सदस्यमा बाबुराम भुसाल, प्रकाश बन्जाडे, ज्ञानेन्द्र घिमिरे, सन्तोष बस्नेत, तुल्सि भुसाल, लक्ष्मीनारायण खनाल र सुर्य थापा रहनु भएको छ ।

अधिबेशनको भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका वडानम्बर १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुदाली, १२ का वडाअध्यक्ष नारायण खड्का, उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, संस्थापक सचिव सहयोगी बीसी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कृष्णप्रसाद भुसालको अध्यक्षता, धर्मराज भुसालको सञ्चालन र डिल्लीराज खनालको स्वागतमा सम्पन्न भएको हो ।

प्रधानमन्त्री भएकोमा पाकिस्तानले दियो ओली लाई बधाई।

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकोमा पाकिस्तानले बधाई दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्‍ता डा. मोहम्मद फासलले विज्ञप्ति जारी गरी पाकिस्तानी सरकारका तर्फबाट ओलीलाई बधाई दिएका हुन् । संविधान जारी भएपछि सफल निर्वाचनपछि ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकोमा पाकिस्तानले बधाई दिएको हो ।