काठमाडौं, फागुन ४ – पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रबीच शुक्रबार हुने भनिएको छलफल हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार वार्ता भएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो । तर अध्यक्षहरुबीच नै छलफल नभएकाले संयोजन समितिको बैठक पनि बस्न नसकेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
शनिबार अध्यक्षहरुबीच छलफल भएपछि संयोजन समितिको बैठक बस्ने पनि उहाँले जानकारी दिनुभयो । पार्टी एकताको खाका तयार भैसके पनि केही विषयमा कुरा मिल्न बाँकी छ ।
दुई अध्यक्षले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति गरिसकेका छन् । तर पार्टी एकतामा अरु कुरा मिल्न बाँकी भएकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि माओवादी सरकारमा सहभागी भएको छैन ।
माओवादीले पार्टी एकता र सरकार गठनको विषय प्याकेजमै टुंग्याउने बताइरहेको छ भने एमालेले सरकार गठनपछि पनि पार्टी एकताको विषय टुंग्याउन सकिने बताउँदै आएको छ । माओवादीले दुई दलबीच एकता गरेर वा त्यसको खाका तयार गरेपछि मात्र सरकारमा जाने प्रस्ताव गरेको छ ।
Source :Ujyaaloonline.com