अर्गानिक तरकारी उत्पादन गर्न जैविक विषादी बनाउने तालिम पाणिनीमा ।

प्रेमनारायण आचार्य
अर्घाखाँची, ४ फागुन । अर्गानिक तरकारीको उत्पादन गर्न भन्दै अर्घाखाँचीको खिदीममा स्थानीय स्तरमा प्रांगरिक मल तथा जैविक बिषादी बनाउने सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

तरकारीमा बढि बिषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीय स्तरमा पाइने अमिलो, टर्राे, पिरो, तितो लगायतका बस्तुहरुको प्रयोग गरेर पाणिनि गाँउपालिका वाड नम्वर ३ खिदीम, अड्गुरी र पोखराथोकमा जैविक बिषादी बनाउन सिकाइएको हो ।
गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनि गाँउ पालिकालाइ कृषि र पशुपालनमा नमुना बनाउने

गरि काम भैरहेको जानकारी दिए । उनले उत्पादनमुखी र व्यवसायीकमुखी कृषकलाइ गाँउपालिकाले सहयोग गर्न कुनै पछि नपर्ने बताए ।
तरकारीमा बढ्दो बिषादीको प्रयोग रोक्नकालागि लुम्विनी सामाजिक विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा जैविक विषादी बनाउने तालिम सञ्चालन गरिएको लुम्बिनी सामाजिक विकास केन्द्रका फोकल प्रर्सन कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यलयका वालि संरक्षण अधिकृत नन्दलाल पाण्डे र प्राविधिक राजेन्द्र भटराइले गरे । समापन समारोहमा सहभागीको तर्फबाट शान्ता घिमिरे, राम प्रसाद भटराई, हरि प्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए ।

Source :hindukhabar.com

Advertisement

​सिन्धुली दुर्घटना अपडेट : मृत्यु हुनेको सनाखत भयो। 

सिन्धुली, फागुन ४ – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडा नजिकै डबल क्याप बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको ज्यान गएको छ भने अन्य १७ यात्रु घाइते भएका छन् ।

सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप अहिले बेलुका ५ बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा गोलान्जोर गाँउपालिका –५, रतनचुरा निवासी १९ वर्षीय नवराज थापा, ५० वर्षीया लक्ष्मी देवकोटा, २० वर्षीय युवराज लुंगेलीमगर र २२ वर्षीय रेशम कार्की रहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिन्धुली अस्पतालमा अहिले १४ जना यात्रुको उपचार भइरहेको छ । गम्भीर घाइते भएका अन्य तीन जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको अस्पतालका मेडिकल अधिकृत डा. प्रेरित देवकोटाले जानकारी दिनुभयो । थप उपचारका लागि काठमाडौं  पठाएका घाईते यात्रुहरुमा गोलान्जोर गाँउपालिका –५, निवासी १० वर्षीया दिपीका थापा, २६ वर्षीय दिलिपजंग थापा र पवित्रा मगर रहेका उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा खटिनु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले गाडी चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको बताउनुभयो । दुर्घटनाको उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिक संलग्न थिए ।

Source :Ujyaaloonline

एमाले र माओवादीको एकता संयोजन समितिको बैठक बस्न सकेन। 

काठमाडौं, फागुन ४ – पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रबीच शुक्रबार हुने भनिएको छलफल हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार वार्ता भएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो । तर अध्यक्षहरुबीच नै छलफल नभएकाले संयोजन समितिको बैठक पनि बस्न नसकेको एमाले नेता सुवास नेम्वाङले  जानकारी दिनुभयो ।

शनिबार अध्यक्षहरुबीच छलफल भएपछि संयोजन समितिको बैठक बस्ने पनि उहाँले जानकारी दिनुभयो ।  पार्टी एकताको खाका तयार भैसके पनि केही विषयमा कुरा मिल्न बाँकी छ ।

दुई अध्यक्षले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति गरिसकेका छन् । तर पार्टी एकतामा अरु कुरा मिल्न बाँकी भएकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि माओवादी सरकारमा सहभागी भएको छैन ।

माओवादीले पार्टी एकता र सरकार गठनको विषय प्याकेजमै टुंग्याउने बताइरहेको छ भने एमालेले सरकार गठनपछि पनि पार्टी एकताको विषय टुंग्याउन सकिने बताउँदै आएको छ । माओवादीले दुई दलबीच एकता गरेर वा त्यसको खाका तयार गरेपछि मात्र सरकारमा जाने प्रस्ताव गरेको छ ।

Source :Ujyaaloonline.com

​विवाहका दिन बेपत्ता भएका बेहुलाका बारेमा प्रहरीले गर्‍यो यस्तो तथ्य सार्वजनिक।

नवलपरासी,फागुन ४ – विवाहको दिन बेपत्ता भएका बेहुलाको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धानको तत्थ्य सार्वजनिक गरेको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल माघ २२ गते रातिदेखि बेपत्ता भएका थिए । २२ गते नै विवाहको मिति तय भएकोमा एकाएक बेपत्ता भएका बेहुलाका वारेमा भएको अनुसन्धानको तत्थ्य शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा अपहरणमा परेको आशंका गरिएका बेहुला बालकृष्ण खरेल अपहरणमा नपरेको र आफूखुशी घर छाडेर गएको देखिएको जनाएको छ ।

परिवारले बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन दिएपश्चात अनुसन्धानमा लागेको प्रहरीको टोलीले बालकृष्णको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दा भारतमा  देखिएको र त्यही लोकेसनको आधारमा उनका बारेमा थप तथ्यहरु पत्ता लागेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीका अनुसार बालकृष्णले संचालन गरेको फेसबुकको आधारमा भारतमा रहेको देखिएपछि भारतीय प्रहरीको सहायतामा अनुसन्धान थालिएको थियो ।

त्यसै क्रममा बालकृष्ण सुन्दर गेष्ट हाउस गोरखपुरमा गई माघ ७ गतेदेखि माघ २७ गतेसम्म एक्लै बसेको होटलको रजिष्टर रेकर्डमा देखिएको  छ । होटलमा राखिएको परिचयपत्रको फोटोकपी, होटलवाला र कामदारको भनाई र सिसिटिभी फुटेजको आधारमा समेत उनी त्यहाँ बसेको प्रमाणित भएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो  । होटलमा एक्लै बसेकाले बालकृष्ण अपहरणमा परेको नदेखिएको समेत  उहाँले बताउनुभयो ।

विवाह गर्न लागि लागिएकी युवतीलाई फेसबुकमा म्यासेज

बालकृष्णले आफूले विवाह गर्न लागेकी युवतीलाई समेत फेसबुकमार्फत म्यासेज पठाए पछि उनी अपहरणमा नपरी आफै घर छाडी भागेको थप  पुष्टि भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको भनिएको केही दिनपछि उनले विवाह गर्न लागेकी यवतीलाई  फेसबुकमा म्यासेज पठाएका थिए ।बालकृष्णले म्यासेजमा ‘सायद गडको चाहना नै यही थियो कि म तिम्रो लायक थिइन, सो आई कान्ट से सरी, बट आई एम रिएली सरी, म तिम्रो लागि सरी भन्न त सक्छु, माफी लायक छैन’ भन्दै पठाएको पाइएको प्रहरीले जनाएको छ ।

यसबीचमा उनले  सन्तोष भन्ने साथीलाई ‘मिसन फर समथिङ न्यु ईज फिनिस्ड, होप आई एम नट एक्सक्युज पर्सन बट सरी फर अल, आई एम सो सो सरी’ लेखेर म्यासेज गरेको देखिएकाले बालकृष्ण आफूखुशी घर छाडेर गएको देखिएको प्रहरीले जनाएको छ ।

विवाहका लागि ठिक्क परेका बेहुला बेपत्ता, कसले लेख्यो उनको फेसबुकमा ‘टुमरो इज लास्ट डे’ ?

उनले किन यस्तो गरे भन्ने कुरा भने अझै अनुसन्धानको क्रममा रहेको र प्रहरीले उनको खोजी गर्ने कार्य गरिरहेको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।

अघिल्लो दिन स्पेनका साथीसँग पैसा मागेका थिए

बालकृष्णका दाइका अनुसार उनले अघिल्लो दिन स्पेनस्थित साथीबाट विवाहका लागि पैसा चाहियो भनेर ६१ हजार रुपैयाँ आईएमईबाट  लिएको देखिएको छ । ‘पैसा लिएर हिँडेको जस्तो देखिन्छ तर मान्छे नभेटिएसम्म यही हो भन्न सकिँदैन’ जिसीले भन्नुभयो, ‘केटी पक्षलाई कुनै पनि आरोप लगाउने ठाउँ देखिँदैन, बाहिर धेरै कुराहरु आउँछ त्यस्तो नहोस ।’

बेहुलीका बुबा भन्छन् : २ सय जन्तीका लागि तयारी थियो

‘२२ गते साढे ७ बजे केटा हराएको थाहा भयो साँझसम्म कुरेर बसियो, २ सय जना जन्ती आउने भनेर खबर थियो, सबै तयारी थियो, आफै बुझ्नुहोस् , पीडा कति थियो र कति छ ।’ बेहुलीका बुवा कलाधर सुवेदीले भन्नुभयो, ‘हामीलाई  पहिला केटा चाहियो बाँकी क्षतिपूर्ति र अरु कुरा पछि आउँछ ।’   बेपत्ता भएका भनिएका केटा नआएसम्म आफूले अरु कुरा भन्न नसक्ने उहाँले बताउनुभयो ।

source: Ujyaaloonline

जिल्ला सदस्य डिल बहादुर खत्रीकी आमाको निधन प्रति राष्ट्रिय जनमोर्चा अर्घाखाँची द्धारा दुःख ब्यक्त ।

गोपाल भट्टराई ,फाल्गुण ४ अर्घाखाँची
राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य डिल बहादुर खत्रीकी आमाको निधन प्रति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले दुःख ब्यक्त गरेको छ । गत माघ २२ गते ७७ बर्षको उमेरमा भएको निधनले आफुहरुलाई दुःखी बनाएको राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.ले बताउनुभएको छ । उहांको संझनामा आज हंशपुरमा आयोजना गरिएको शोक सभामा बोल्दै नेता के.सी.ले बर्गिय मुक्तिको निम्ती खट्ने छोराहरुलाई जन्म दिने आमाको निधनले आफुहरुको आन्दोलनलाई ठुलो क्षती पु¥याएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा मालारानीका सचिव समेत रहनुभएका उहांका छोरा डिल बहादुर खत्रीको अध्यक्षता र बिष्णु खत्रीको संचालनमा सम्पन्न भएको शोकसभामा राष्ट्रिय जनमोर्चाका नेता नरेन्द्र बहादुर थापा,खिमानन्द मरासीनि,रेसम खत्री,कृष्ण बस्नेत लगायतले श्रदान्जली दिनुभएको थियो ।